२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

बाँकेका कोरोना संक्रमितका परिवारको कोरोना जाँच शुरु

नेपालगन्ज, 
२० वैशाख । बाँकेमा संक्रमित भएका ६० वर्षका पुरुषको परिवारका सदस्य र उनीसँग निकट रहेका व्यक्तिको कोरोना परीक्षण भइरहेको छ । भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाका अनुसार संक्रमित व्यक्तिको परिवारका सदस्य र उनीसँग निकट रहेका काम गरेका व्यक्तिहरुको पहिलो चरणमा शनिबारदेखि स्वाब संकलन गर्ने काम भइरहेको छ ।

उनीसँगै कोरोना आशंका गरेर आइसोलेसनमा भर्ना राखिएका युवाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ । शुक्रबार उनलाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको थियो । शुक्रबार राति नै उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आए पनि उनलाई एक हप्तासम्म आइसोलेसनमा राखेर थप परीक्षण गरिने डा।थापाले बताए ।

बिहीबार बागेश्वरी मन्दिरका मूल महन्त चन्दनाथ योगीसहित ४० जनाको कोरोना जाँच गरिएको थियो । ती सबै जनाको रिपोर्ट पनि नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

शुक्रबार बाँकेको विकट नरैनापुर गाउँपालिकाबाट संकलन गरिएको ५६ वटा स्वाबको पनि शनिबार नै परीक्षण थालिएको छ । ती नमूनामा ३१ जना मुस्लिम धर्मगुरु मौलाना, ७ जना मन्दिरका पूजारी, १५ जना क्वारेन्टाइनमा रहेका ब्यक्ति, क्वारेन्टाइनमा काम गर्ने दुई जना स्वास्थ्यकर्मी र एक जना सहयोगीको स्वाब संकलन गरिएको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अमहद शाहले जानकारी दिएको खबर अन्नपुर्ण पोष्टमा प्रकाशित छ ।