२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

विषालु च्याउ खाँदा आमा छोरीको मृत्यु

बुटवल, 
२३ वैशाख । जंगलबाट ल्याएको विषालु च्याउ खाँदा अर्घाखाँचीमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । परिवारकै अन्य दुई जना बिरामी भई उपचाररत छन् ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६ खिल्जीका ३२ वर्षिया रामकला महतरा र उनकी छोरी ७ वर्षीया वीपासा महतराको मृत्यु भएको हो । विषालु च्याउ खाएर बिरामी भएका उनीहरुको बुटवलको लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । अस्पतालमा उपचारका लागि भर्ना भएकी रामकलाको शनिबार राति र विपासाको सोमबार बिहान मृत्यु भएको लुम्बिनी सिटी अस्पतालका सहायक प्रशासन प्रमुख सुन्दर पोखरेलले बताए ।

रामकलाकी सासु ५९ वर्षीया लालसरी महतरा र देउरानी २१ वर्षीया लक्ष्मी महतराको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवै जनाको स्वास्थ्यमा सुधार आएपछि आईसीयू कक्षबाट मंगलबार जनरल वार्डमा सारिएको र भोलि डिस्चार्ज गरिने अस्पतालका प्रमुख प्रशासकीय अधिकृत तेज केसीले जानकारी दिए ।

च्याउ खाएपछि लगातार पखाला लाग्ने र बान्ता आएपछि बिरामी चारै जनाले सन्धिखर्कको एक मेडिकल पसलबाट औषधी किनेर सेवन गरेका थिए । पखाला र बान्ता नरोकिएपछि शनिबार अर्घाखाँची अस्पताल पुगेका उनीहरुलाई बुटवल रिफर गरिएको थियो ।