२०७८ जेष्ठ १ गते शनिवार
२०७८ जेष्ठ १ गते शनिवार

भारतको दिल्लीमा दाङका ३० जना श्रमिकहरुको विचल्ली

नयाँ दिल्ली,
२५ वैशाख । कोरोना भाइरसको महामारी बढ्दै गएपछि भारतमा रहेका नेपाली श्रमिकहरुको विचल्ली भएको छ। विश्वका साना ठूला सबै देशहरुले आफ्ना नागरिकहरुलाई उद्धार गरेर फर्कारहँदा नेपाल सरकारले भने नेपाली नागरिकहरुलाई जहाँ छौं त्यहीँ बस भन्दै स्वदेश जान बन्देज लगाएकाले भारतमा रहेका लाखौं नेपालीहरुको बिचल्ली भएको हो।

भारतको राजधानी नयाँ दिल्लीमै २० हजार बढी नेपालीहरु अलपत्र अवस्थामा रहेका छन्। दूताबासको सम्पर्क र पहुँचमै नरहेका कयौं नेपालीहरु अहिले दिल्लीमा घर न घाटको अवस्थामा रहेका छन्। होटल, रेल्वे स्टेशन, उद्योग, कलकारखाना लगायत विभिन्न ठाउँमा मजदुरी गरिरहेका नेपालीहरु कोरोनाको त्रास र लकडाउन शुरु भएसँगै अप्ठ्यारो स्थितिमा पुगेका हुन्। अधिकांश नेपालीहरु अहिले बसिरहेको ठाउँमा टिक्न नसक्ने स्थितिमा पुगिसकेको उनीहरुको भनाई छ।

डेरामा बसेकाहरुलाई घरबेटीले अब आफ्नो देश जाउ भनिरहेको र कतिपयको बस्ने ठाउँ नै नभएर एउटै कोठामा ३० जनासम्म कोचिएर बस्नुपरेको पीडा सुनाइरहेका छन्। नयाँ दिल्लीको अजमिरिगेट मेट्रो स्टेशनमा काम गरिरहेका दाङ घोराही उपमहानगरपालिका वडा नं. १८ फुर्सेखालीका शोभाराम पाण्डेले आफूहरु निकै अप्ठ्यारोमा परेको भन्दै उद्धार गर्न नेपाल सरकारलाई अनुरोध गरे।

लकडाउनसँगै आफूहरु नयाँ दिल्लीको पहाडगञ्ज भन्ने ठाउँमा दाङकै २५/३० जना एउटै ठाउँमा कोच्चिएर बस्नुपरेको भन्दै पाण्डेले खान बस्न मात्रै होइन, कोरोनाको महामारी बढ्दै जाँदा अरु तनाब पनि बढिरहेको बताए। कमाएको पैसा सकियो, मोबाइलसम्म बेच्ने अवस्था आइसक्यो, पाण्डेले भने, ‘नेपाल सरकारले जसरी पनि हामीलाई यहाँबाट उद्धार गर्नुपर्यो। दूताबासलाई हामीले बारम्बार कम्तीमा पनि दुई सय पटकभन्दा बढी फोन गरिसक्यौं तर फोन उठ्दैन। हामीलाई राहत पनि कसैले दिएको छैन। सरकारले आफूहरुलाई तुरुन्त उद्धार गरेर नेपाल फर्काउन माग गर्दै पाण्डेले आफूहरु नेपाल फर्किन लाग्ने पैसा आफै ऋण लिएर भए पनि तिर्ने र नियमअनुसार क्वारेन्टाइनमा बस्ने, स्वास्थ्य जाँच गराउने बताए।

भारत सरकारले आफ्नै नागरिकलाई स्याहार गर्न नसकेको अवस्थामा आफूहरुलाई हेर्ने कोही नभएको भन्दै पाण्डेले चारैतिरबाट कोरोनाको प्रकोपले घेरिरहेको र आफूहरु निकै असुरक्षित भएको बताए। पाण्डेजस्तै नयाँ दिल्लीको पहाडगञ्जस्थित होटलमा काम गर्ने बङ्गलाचुली गाउँपालिका १ कालिमाटीनिवासी तुल्सी भट्टराई पनि सोही समूहमा छन्। डेढ महिनाअघिदेखि साँघुरो कोठामा धेरै जना कोचिएर बस्नुपरिरहेको भन्दै भट्टराईले आफूलाई सरकारले उद्धार गरेर नेपाल लैजान अनुरोध गरे। हामीहरु कोही पार्टी प्यालेसमा कोही होटेल त कोही मेट्रो स्टेशनमा काम गथ्र्यौं, भट्टराईले भने, ठेकेदारहरु पनि पैसा नदिएर कता गए कि भागे केही थाहा छैन। हाम्रो अवस्था निकै दयनीय बनेको छ। हामी यहाँबाट घर जान चाहन्छौं, हामी नेपाल फर्किएर क्वारेन्टाइनमा बस्छौं, सरकारले हाम्रो पीडा बुझेर उद्धार गरिदिन अनुरोध छ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका ११ निबासी तेजप्रसाद पाण्डेले पनि उद्धार गरिदिन नेपाल सरकारसमक्ष अनुरोध गरेका छन्। नयाँ दिल्लीको ढावामा काम गर्ने पाण्डेले घरमा श्रीमती पनि बिरामी रहेको र आफू पनि चिसो कोठामा बस्दा बस्दै बिरामी भएको बताको खबर दैनिक अनलाइनमा प्रकाशित छ ।