२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

क्वारेन्टाइन अवधि पूरा गरेर पनि स्वदेश फर्कन पाएनन् नेपाली

भैरहवा, 
२६ वैशाख । भारत र नेपाल दुवैतर्फ लकडाउन र सम्पूर्ण सिमाना सिल गरेको डेढ महिना बितिसक्दा पनि भारतबाट नेपाल आउन खोज्ने नेपालीको संख्यामा कुनै कमि आएको छैन । सीमा नाकामा अहिलेपनि उत्तिकै भीड लाग्ने गरेको छ । उनीहरुको व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा सरकारले समयमै स्पष्ट निर्णय लिन नसक्दा जिल्लाका सुरक्षा निकाय अन्योल देखिन्छन् । सरकारले तत्कालै सिमानामा आइपुगेकाकोमात्र होइन, तीन साता अघिदेखि भारतीय क्वारेन्टाइनमा अवधि पूरा गरेर नेपाल आउन चाहने नेपालीको हकमा पनि कुनै निर्णय लिन सकेको छैन ।

‘माथिबाट कुनैपनि निर्णय समयमै आउन नसक्दा उनीहरुको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा जिल्ला तहमा कार्यान्वयन गर्न निकै अप्ठेरो परिरहेको छ,’ रुपन्देहीका एक सुरक्षा अधिकारीले भने, ‘क्वारेन्टाइन अवधि पूरा भएका नेपालीलाई आफ्नो देश लैजान भन्दै भारतीय पक्षले दबाब दिन थालेको छ । यता सरकारले कुनै निर्णय गर्दैन ।’

कोरोना संक्रमणको जोखिम कम गर्न नेपाल र भारतमा गत चैत ११ गते लकडाउन गरिएको थियो । तीन–चार दिनसम्म सीमा नाकामा यात्रुको तापक्रम जाँच गरेर आउन जान दिने गरिएपनि त्यसपछि सिमाना पूर्ण रुपमा सिल गरिएको थियो । नेपाल आउन नपाएर सिमानामा अलपत्रमा परेका ३ सयभन्दा धेरै नेपालीलाई नौतनवास्थित ३ हप्ताको क्वारेन्टाइनको अवधि पूरा गरेपछि दुई साताअघि स्वदेश आउने अनुमति नेपाल सरकारले दिएको थियो ।

त्यसपछि पनि भारतका विभिन्न स्थानबाट सुनौली नाका हुँदै नेपाल आउन खोजेका नेपालीको भीड भारततर्फ उत्तिकै छ । इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले सुनौली नाकाबाट नेपाल आउन चाहेको नेपालीको संख्या भारततर्फ १ हजारभन्दा माथि रहेको बताए ।

‘लकडाउन भएपनि नेपाल आउने नेपालीको चाप सिमानामा दिनहुँ देखापरेका छन्’ अधिकारीले भने, ‘सिमानामा आएका नेपालीलाई भारतीय पुलिसको सहयोगमा उतै भारततर्फ फर्काइदिने गरिएको छ ।’ बिहीबारमात्रै सिमानाबाट नेपाल आउन चाहेका १ सय ६ जना नेपालीलाई भारतीय सुरक्षाकर्मीसँग समन्वय गरेर भारततर्फ नै फर्काइएको उनले बताए ।

उनका अनुसार नेपाल आउन नपाएर भारततर्फ नै रोकिएका १ हजारमध्ये ४ सय ४० जना नेपालीले सुनौली नजिकको नौतनपामा तीन साताको क्वारेन्टाइन अवधि पूरा गरिसकेका छन् । क्वारेन्टाइन पूरा गरेका नेपालीलाई लैजान भन्दै भारतीय पक्षले आग्रह गरिरहेको छ । सबैजना नेपालीलाई भारतीय पक्षले नै राख्ने व्यवस्था गरेको छ । नेपाल आउन नपाएर अलपत्रमा पर्नेमा बालबालिकादेखि वृद्ध र अपांगसमेत छन् । पाँचथर, ताप्लेजुङ, डोटीलगायत मेचीदेखि महाकालीसम्मका छन् ।

उनीहरुमध्ये कतिपय पैदलयात्रा गर्दै र कतिपयलाई भारत सरकारले सिमानासम्म ल्याइदिएको हो । मूल नाकाबाट नेपाल आउन नपाएपछि धेरैले खुल्ला सिमानाबाट लुकेर आउन थाल्नाले कोरोना संक्रमणको जोखिम झन् बढ्न थालेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत ध्रुव नेपालले सिमानामा रोकिएका नेपालीको अवस्थाका वारेमा माथि जानकारी गराइएपनि अहिलेसम्म कुनै निर्णय नआएको बताए । ‘यस वारेमा पकट पटक जानकारी गराइएको छ’ नोपालले भने, ‘ माथिबाट निर्णय नआएसम्म हामीले केही गर्न सक्दैनौं ।’ खबर कान्तिपुरमा प्रकाशित छ ।