२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

भारतीय क्‍वारेन्टाइनमा नेपाली : कोरोना जाँच पनि भएन, भोकले मर्न लाग्यौं

बाँके, 
२७ वैशाख । भारतमा मजदुरी गरेर फर्किंदै गरेका नेपाली मजदुरले भारतस्थित नानपारा क्‍वारेन्टाइनमा कष्टकर जीवन विताउन बाध्य भएका छन्। नेपालगन्ज नाका भएर नेपाल आउन लागेका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले रुपैडियाबाट लगेर भारतको बराइच जिल्लास्थित नानपारास्थित क्‍वारेन्टाइनमा राखेपछि उनीहरुको दैनिकी कष्कर बन्दै गएको छ। त्यहाँ रहेका एक सय ३२ जना नेपाली श्रमिकले संकटपूर्ण जीवन जिउन परेको भन्दै स्वदेश फर्किने व्यवस्था मिलाइदिन नेपालका पत्रकारलाई गुहारेका छन्। आफ्नै देशको भूमिमा पाइला टेकेकै अवस्थामा भारतीय सुरक्षाकर्मीले नानपारा पुर्‍याएको गुनासो गरेका छन्। उनीहरु १ सय ३२ जना चार वटा कोठामा खाँदिएर बस्ने गरेका छन्। ‘रोगभन्दा भोग र चिन्ताले सताएको छ,’ कोहलपुर नगरपालिका १ कौशिलानगरका रणसुर खत्रीले भने।

‘रोदन सुन्दा मन थाम्न सकेनौँ’
नानपारास्थित क्‍वारेन्टाइनमा पुराना र नयाँ ६५ जना क्‍वारेन्टाइनमा रहेका नेपालीसँग नियमित सम्पर्कमा आफू रहेको अम्बिकेश्वरी मल्टी यातायात प्रालिका अध्यक्ष भद्रबहादुर ओलीले बताए। उनीहरु नेपाल आउन आतुर रहेका उनले बताए। ‘छिटो नेपाल आउने वातावरण मिलाइदिनुपर्‍यो भनेर रुँदै फोन गर्छन्, उनीहरुको बेदना सुन्दा मन थाम्न सकिँदैन,’ ओलीले भने। क्‍वारेन्टाइनमा रहेका नेपालीले समयमा खान नपाएको गुनासो गर्ने गरेका मुल प्रवाह अखिल भारत नेपाली एकता समाज रिकांगपिओका नगर सचिव मिथुन सिंहले जानकारी दिए। ‘क्‍वारेन्टाइनमा रहेका नेपालीले एक छाकका लागि तड्पिनुपर्ने अवस्था छ, नेपालीलाई एक गाँस भातका लागि पर्खिनुपर्ने अवस्था छ,’ उनले भने।

कारागारभन्दा दयनीय अवस्था
भारत सरकारका कर्मचारीले आफूलाई इच्छा लागेको बेला मात्र नेपालीलाई खान दिने गरेका सुदूरपश्चिम प्रदेशका नरबहादुर साहुले बताए। खाना थप्न खोज्दा खाना खुवाउने व्यक्तिले नमिठो गाली गर्ने गरेका उनले बताए। ‘खाना खाने बेला कहिल्यै नपाएको गाली खानुपर्दा मन कटक्क खान्छ, मुटु छियाछिया हुन्छ,’ उनले दुखी हुँदै भने। भारतको दिल्लीबाट आउँदै गरेका गुल्मीका विष्णु पौडेललाई भारतीय सुरक्षाकर्मीले रुपैडियाबाट नियन्त्रणमा लिएर नानपारास्थित क्‍वारेन्टाइन पुर्‍यायो। ‘न खाना राम्रो छ न त बस्ने कोठा र सुत्ने ठाउँ नै राम्रो छ। मच्छरले टोकेर रातभर सुत्न सकिन्न,’ पौडेलले भने, ‘सायद यस्तो दयनीय अवस्था त कारागारमा पनि हुन्न होला।’ कम्पनीले निकालिदिएपछि घर न घाटको भएको नानपारा क्‍वारेन्टाइनमा रहेका प्रदेश ३ का चित्रबहादुर तामाङले बताए। आफूहरुको शरीर सुक्दै गएको भन्दै तामाङले भने, ‘एकातिर चिन्तैचिन्ताले हामी मर्ने भयौँ, अर्कोतिर परिवारका सदस्यको हालत पनि हामीभन्दा कम छैन,’ उनले भने, ‘हामीलाई भारतीय क्‍वारेन्टाइनबाट निकालेर आफ्नै देशको क्‍वारेन्टाइनमा राख्नु पर्‍यो।’

कोरोना जाँच त परै जाओस् सामान्य स्वास्थ्य परीक्षण पनि भएन
क्‍वारेन्टाइनमा रहेका ६५ जना नेपालीले ३६–४० दिन बिताइसकेका छन्। यो अवधिमा उनीहरुको एक पटक पनि स्वास्थ्य परीक्षण भएको छैन। गर्मीका कारण आँखा पाक्ने, चिलाउने, शरीरमा घाउखटिरा आउने, रुघाखोकीजस्ता समस्या देखिए पनि स्वास्थ्यकर्मीको टोली अहिलेसम्म नआएको दैलेखका कल सिंहले बताए।

क्‍वारेन्टाइनमा कुन जिल्लाका कति जना ?
नानपारास्थित क्‍वारेन्टाइनमा दाङ, बाँके र सल्यानका १८–१८ जना, बर्दियाका ९, दैलेखका ३६, कालिकोट र सुर्खेतका ६–६ जना, जुम्लाका दुई, गुल्मीका चार, र सुदूरपश्चिम प्रदेशका सात जना रहेको त्यहाँबाट रणसुर खत्रीले जानकारी दिएको खबर थाहा खबरमा प्रकाशित छ ।