२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

कपिलवस्तुका ३ जना संक्रमित एकै क्वारेन्टाइनका

कपिलवस्तु, 
२७ वैशाख । जिल्लामा शनिबार कोरोनाका थप ३ संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंले स्वाब परीक्षणपछि यहाँका १७ वर्षे र दुई जना १८ वर्षे किशोरमा संक्रमण पुष्टि गरेको हो ।

उनीहरू तीनै जना मायादेवी गाउँपालिका–१, पकडीस्थित छत्रपाली तीर्थादेवी माविको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरू मायादेवी गाउँपालिका–२ अभिराव, वडा नं ८ बिजुवा र शुद्धोदन गाउँपालिका–६ का बासिन्दा हुन् । अभिरावका किशोर २३ गते राति क्वारेन्टाइन पुगेका थिए । बिजुवा र शुद्धोदनका युवा २० गते मुम्बईबाट फर्केका हुन् ।

यससँगै जिल्लामा संक्रमितको संख्या ५ पुगेको छ । बिहीबार पनि सोही क्वारेन्टाइनमा बसेका १६ वर्षे किशोर र २२ वर्षे युवकमा संक्रमण पुष्टि भएको थियो । उनीहरू दुवै जना अभिरावकै हुन् ।

क्वारेन्टाइनमा बसेका ६५ जनाको स्वाब परीक्षण गर्न पठाइएको मायादेवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादवले बताए । उनीहरूमध्ये बिहीबार १२ जनाको परीक्षण हुँदा २ जनामा संक्रमण देखिएको थियो ।