२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

तुलसीपुर क्वारेन्टाइनमा रहेकी महिलाले जुम्ल्याहा बच्चा जन्माइन्

तुलसीपुर,
२७ बैशाख । तुलसीपुर उपमहानगरपालिकाले कोरोनाको आशंका रहेकालाई राख्नका लागि सञ्चालन गरेको क्वारेन्टाइनमा बसेकी एक महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् ।

वडा नम्वर १३ फुलबारी घर भएकी अनिता यादवले राप्ती प्रादेशिक अस्पतालमा जुम्ल्याहा छोरी जन्माएकी हुन् । अस्पतालकी मेडिकल अधिकृत डा. लिजा पुरीका अनुसार दुवै वच्चा स्वस्थ रहेपनि एक जनाको तौल कम रहेको छ । ‘एउटाको १.८ केजी र अर्काको १.५ केजी रहेको छ’ अधिकृत डा. पुरीले बताईन ।

बच्चाहरु शुक्रवार राति ९.१५ मा जन्मिएको पनि अस्पतालले जनाएको छ । गर्भवती यादव गत विहीवारबाट क्वारेन्टाइनमा वस्न थालेकी थिइन् । चार महिना अगाडिबाट रुपैडिहाको विलौनीमा माइतिघर रहेकी यादव विहीवार मात्रै २ दिन हिँडेर घरमा आएकी थिइन् ।

भारतबाट आएको भनेर गाउँलेहरुले खबर गरेपछि उनलाई तुलसीपुर उपमहानगरपालिकाको कोरोना रेस्क्यु टिमले बिहीवार राति नै क्वारेन्टाइनमा ल्याइएको जनस्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए । उनको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएको थियो ।

यादवलाई शुक्रवार विहान १२ वजेतिर व्यथा लागेपछि प्रादेशिक अस्पतालमा ल्याइएको विपद् शाखाका प्रमुख भिमप्रकाश खत्रीले जानकारी दिए। ‘जटिल अवस्था भनेपछि हामीले नेपालगञ्ज लैजाने तयारी पनि गरेका थियौ’ खत्रीले भने । आमा र बच्चाका अवस्था अहिले स्वस्थ रहेको छ ।