नेपालगन्ज,
२७ वैशाख । बाँके कारागारका कैदीबन्दीले कोरोना परीक्षण गर्न सरकारसँग माग गरेका छन् । भारतको मुम्बइ जेलमा ७२ जना कैदीबन्दीमा कोरोना संक्रमण भएको खबरसँगै कारागार क्षेत्र जोखिममा रहेको उनीहरुले जिकिर गरेका छन् । नेपालगन्जका पनि २३ जनामा कोरोना संक्रमण भएपछि उनीहरुले आफूहरू खतरामा रहेको बताउँदै कारागार प्रशासनमार्फत सरकारसँग आग्रह गरेका हुन् ।
कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेकाले एक जनामा कोरोना देखिए सबै सर्ने अवस्था छ । बाँके कारागारमा पुरुष बन्दीगृहको क्षमता दुई सय ५० मात्र हो । जहाँ सात सय ५५ जनालाई राखिएको छ । महिला बन्दीगृह भने क्षमता अनुसार नै ५० जनालाई मात्र राखिएको छ ।
बाँके कारागारका जेलर देवेन्द्रप्रसाद श्रेष्ठले कैदीबन्दीले कोरोना जाँच गर्न माग गरेको स्वीकार गरे । ‘उनीहरुले माग गर्दैमा हामीले पूरा गर्न सक्दैनौं । कोरोना रोकथाम र नियन्त्रण गर्न सुरक्षात्मक र उपचारात्मक उपायलगायतका विषयमा माग गर्दै हामीले आजै विभागलाई पत्राचार गरेका छौं’, उनले भने, ‘हामीले कैदीबन्दी तथा कर्मचारीहरुको समेत कोरोना जाँच र कारागारभित्र क्वारेन्टाइन निर्माण तथा स्वास्थ्यकर्मीसहितको आइसोलेसन कक्ष निर्मार्ण गर्नुपर्ने माग गरेका छौं ।’
गत ९ चैत्रमा कारागार व्यवस्थापन व्यवस्थाले गृहमन्त्रालय, शान्ति सुरक्षा तथा अपराध महाशाखा, स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाला सिंहदरबारलाई पत्राचार गरी कारागारमा पीपीई, थर्मल गन, पञ्जा, माक्स, सेनिटाइजर र टेस्टिङको व्यवस्था थर्न माग अनुरोध गरेको थियो । बाँके कारागारमा ७ थान पीपीई काठमाडौंबाट पठाएको भन्ने पत्र पाए पनि कारागारमा पुगिसकेको छैन । कैदीबन्दीहरुले माक्स र सेनिटाइजर पनि पाएका छैनन् । कारागारभित्र प्रवेश गर्ने व्यक्तिले सेनिटाइजरबाट हात सफा गरेर जाने गरेका छन् । लकडाउन यता भेटघाट भने बन्द गरिएको छ । कैदी बन्दीहरुलाई नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको दुई सय थान साबुन प्रयोग गर्न दिइएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ
।