दाङ,
२८ वैशाख । क्वारेन्टाइनमा बसेकी एक महिलाबाट जन्मिएका जुम्ल्याहा बच्चाको कोरोना परीक्षण गर्न उपचाररत अस्पतालले अनुरोध गरेको छ । भारतबाट आएर एकदिन रक्षाचौरस्थित क्वारेन्टाइनमा बसेकी तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारी निवासी अनिता यादवले शुक्रवार जन्माएका जुम्ल्याहा बच्चाहरूको उपचार गरिरहेको तुलसी हस्पिटल प्रालि तुलसीपुरले यस्तो अनुरोध गरेको हो ।
जुम्ल्याहा बच्चाहरूको तुलसी हस्पिटलमा एनआईसीयूमा उपचार भइरहेको छ । उपचारको जिम्मा अस्पतालका सञ्चालक डा. किशोर खत्रीले लिएका छन् । आर्थिक अवस्था कमजोर भएकी सुत्केरी महिलाको उपचार र बच्चाहरूको उपचारको जिम्मा लिएका खत्रीले बच्चाहरूको पिसिआर प्रविधिबाट कोरोना भाइरसको परिक्षण गर्न अनुरोध गरेका हुन् । ‘आर्थिक अवस्था कमजोर भएकाले उपचारको जिम्मा हामीले लिएका छौँ, दुईमध्ये एक शिशुको साढे १ किलो र अर्कोको १ किलो २ सय ५० ग्राम तौल रहेको छ ।
उनीहरूको एनआईसियूमा उपचार भइरहेको छ’, डा. खत्रीले भने– ‘बच्चाको आमा हालैमात्र भारतबाट आएकाले बच्चाहरूका पनि भाइरस हुनसक्छ भनेर अन्य बिरामीहरू त्रासमा हुनुहुन्छ उनीहरूको पिसिआर प्रविधिबाट परीक्षण गरेमा ढुक्क हुन्थ्यो ।’ सुत्केरी महिलामा रगतको अभाव भएकाले उनको खाना र रगतको खर्च तुलसीपुर उपमहानगरपालिकाले ब्यहोरेको डा. खत्रीले जानकारी दिए ।
सचेतक देवकोटाको चासो
यसैबीच क्वारेन्टाइनमा बसेकी महिलाबाट जन्मिएका शिशुहरु र आमाको स्वास्थ्य अबस्थाप्रति राष्ट्रियसभामा कांग्रेसका प्रमुख सचेतक अनिता देवकोटाले चासो व्यक्त गरेको जानकारी पनि डा. खत्रीले दिएका छन् । ‘उहाँले फोन गरेर बच्चाहरूको उपचारबारे चासो व्यक्त गर्नुभएको छ’, डा. खत्रीले भने– ‘बच्चा र आमाको स्वास्थ्य अवस्था र उपचारबारे जिज्ञासा राख्दै मलाई पनि धन्यवाद दिनुभयो ।’ त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाले पनि उपचारमा चासो देखाइरहेको जानकारी पनि डा. खत्रीले दिए ।