दाङ,
२८ वैशाख। नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिको बैठक आइतबार सम्पन्न भएको छ । बैठकमा सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई देश मेरो अभिभावक हो, भन्ने अनुभूति गराउन सरकारलाई आग्रह गरिनुका साथै उनीहरूलाई आवश्यक मापदण्ड पूरा गरी स्वदेश ल्याउन सरकारलाई अनुरोध गरिएको छ ।
बैठकले कोभिड १९ को सङ्क्रमण बढ्दै गएको र यतिबेला परीक्षणलाई तीव्र बनाउका लागि संघीय, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । पार्टी सभापति कीर्तिबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ ।
वर्षायामको समय नजिकिदै गरेकाले किसानका लागि आवश्यक बिउबिजन तथा मलको अभाव नगराउन सरकारको ध्यानाकर्षण गरेको छ। कोभिड १९ को समयमा अहोरात्र खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सफाइकर्मीप्रति सम्मान व्यक्त गरेको छ । साथै बैठकमा लिपुलेक विवादमा सरकारले तुरून्त कुटनैतिक पहल चाल्नु पर्नेमा सरकारको ध्यानाकर्षण गराएको छ ।
लकडाउनको समयमा सकस बन्दै गएको जनजीवनप्रति सरकारले ध्यान दिनु पर्ने कुरामा जोड दिदै स्वास्थ्य परीक्षणलाई तीव्र रूपमा अगाडि बढाउन आग्रह गरेको सचिव शंकर डाँगीले बताए ।