प्रेम पुन,
दाङ ३० बैशाख । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत दाङको फुर्केसल्ली मलई मध्यबर्ती क्षेत्रमा स्थानिय र निकुञ्जद्धारा संयुक्त गस्ती गरिएको छ । पछिल्लो समयमा लकडाउनको मौका पारी विभिन्न स्थानमा बन पैदावार तथा चोरि सिकारी बढ्दै गएकाले बन पैदावार, चोरी सिकारी तथा बन संरक्षणका लागि जनचेतनामुलक गस्ती गरिएको हो ।
फुर्केसल्ली मलई मध्यबर्ती क्षेत्रमा उपभोक्ता समितिको नेतृत्वमा स्थानियबासी, देउती मध्यबर्ती सामुदायिक बन, हरियाली मध्यबर्ती सामुदायिक बन, बाँके राष्ट्रिय निकुञ्ज, मलई रेञ्ज पोष्ट तथा निकुञ्ज सुरक्षार्थ श्रीमेयर गणको सहकार्यमा समाजीक दुरी कायम गरी देउती मध्यबर्ती सामुदायिक बन र हरियाली मध्यबर्ती सामुदायिक बनको क्षेत्र भित्रका विभिन्न स्थानमा संयुक्त गस्ती गरिएको थियो ।
गस्तीमा बन पैदावार तथा चोरी सिकारी जस्ता क्रियाकलाप नभएको पाइएको फुर्केसल्ली मलई मध्यबर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष गम्मर बहादुर घर्तीले जानकारी दिए । स्थानियबासीहरूमा बन पैदावार तथा चोरी सिकारी जस्ता गलत क्रियाकलाप गर्न हुन्न र गर्न दिनु हुँदैन, भन्ने चेतना भएकाले निकुञ्ज संरक्षणमा यस क्षेत्रका स्थानियबासीहरूले साथ दिने विश्वास व्यक्त गरे । निकुञ्ज संरक्षणमा विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको र आगमी दिनमा थप कार्यक्रम सञ्चालन गरिने अध्यक्ष घर्तीले बताए ।
सबैको साथ र सहयोगले गर्दा बाँके राष्ट्रिय निकुञ्ज संरक्षित हुने श्री मेयर गण मलई पोष्टका क्याप्टेन महेश अधिकारीले बताए । सकारात्मक काममा स्थानियबासीसंग सहकार्य गर्दै निकुञ्ज सुरक्षामा आफुहरू खटिएको भन्दै गलत क्रियाकलाप भए जानकारी दिन क्याप्टेन अधिकारीले स्थानियलाई आग्रह गरे । बाँके राष्ट्रिय निकुञ्ज राष्ट्रको गौरभ भएकाले यसलाई संरक्षण गर्नु सबैको दायित्व रहेको बाँके राष्ट्रिय निकुञ्ज मलई रेञ्ज पोष्टका प्रमुख कृष्ण खड्काले बताए । निकुञ्ज भित्र हुने गलत क्रियाकलाप हुनबाट बचाउन सबैले सहयोग र सहकार्य गरिदिन खड्काले आग्रह गरे ।
फुर्केसल्ली मलई मध्यबर्ती क्षेत्रमा उपभोक्ता समितिका अध्यक्ष गम्मर बहादुर घर्ती नेतृत्वको गस्ती टोलीमा पुर्व अध्यक्ष राज कुमार खड्का, देउती मध्यबर्ती सामुदायिक बन अध्यक्ष, हरियाली मध्यबर्ती सामुदायिक बनका अध्यक्ष अम्मर बुढा, बाँके राष्ट्रिय निकुञ्ज मलई रेञ्ज पोष्टका प्रमुख कृष्ण खड्का तथा निकुञ्ज सुरक्षार्थ श्रीमेयर गण मलई पोष्टका क्याप्टेन महेश अधिकारी, पत्रकार प्रेम पुन र स्थानियबासी गरि करिब ५० जनाको सक्रिय सहभागिता रहेको थियो । केहि दिन अघि आमखोली मध्यबर्ती सामुदायिक बन र फुर्केसल्ली मलई मध्यबर्ती क्षेत्र अन्तर्गतका अन्य विभिन्न मध्यबर्ती सामुदायिक बन क्षेत्र भित्र पनि संयुक्त गस्ती गरिएको थियो ।
-फाइल फोटो