२०८१ असोज १९ गते शनिवार
२०८१ असोज १९ गते शनिवार

संक्रमित बढेपछि बुटवल कोरोना अस्पतालमा बेड अभाव

रुपन्देही, 
३० वैशाख । बुटवल धागो कारखानाको भवनमा रहेको कोरोना अस्थायी अस्पतालमा बेड अभाव हुन थालेको छ। मंगलबार एकै दिन रुपन्देहीमा ९ जना र कपिलवस्तुमा ८ जना संक्रमित भएपछि उनीहरुलाई राख्न अस्पतालमा बेड अभाव भएको हो।

दुई जिल्लामा १७ जना संक्रमित थपिएपछि कोरोना अस्पतालमा बेड अभाव भएको अस्पतालका कन्सलटेण्डा डा. सुदर्शन थापाले बताए । आजै समस्या परिसक्यो । अब थप बिरामी राख्न सक्ने अवस्था छैन, उनले भने, भैरहवा तिरको अस्पताललाई पनि अलि एक्टीभेट गर्नुपर्ने भयो । १७ जना थपिनु भयो । त्यतिका बेड यहाँ छैन ।

रुपन्देही र कपिलवस्तुमा दिनप्रतिदिन कोरोना संक्रिमित बढिरहेका छन् । २ जिल्लाका संक्रमितलाई मा राखिएको छ। अहिले बुटवलको कोरोना अस्थायी अस्पतालमा २८ जना संक्रमित छन् ।

जसमध्ये रुपन्देहीका ७ र कपिलवस्तुका २१ जनालाई राखिएको छ । कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा ३६ र आइसियुतर्फ थप ८ वटा बेड छन् । अब कोरोना अस्पतालमा आइसोलेसनतर्फ ८ वटा बेड मात्र बाँकी छ । आइसीयुमा अहिलेसम्म कसैलाई भर्ना नगरे पनि गम्भीर अवस्थाका बिरामीलाई मात्र राख्नुपर्ने हुन्छ । भैरहवामा भीम अस्पतालमा कोरोना संक्रमण देखिएका बिरामीलाई राख्न २२ वटा आइसोलेसन बेड रहेको छ । थप ५ वटा आइसीयु छ ।

नयाँ संक्रमितलाई राख्नका लागि निर्देशन नआएको भीम अस्पताल आइसोलेसनका चिकित्सक डा. सुमित प्रजापतीले बताए । त्यतातिर (बुटवल) भरिने अवस्था छ । त्यो अवस्थाले बाँकी बिरामी यहाँ आउने सम्भावना छ । निर्देशन त आइसकेको छैन, उनले भने,अनौपचारिक तयारी चाँही गर्दैछौं ।

मंगलबार फेला परेका संक्रमितलाई अपरान्हसम्म कोरोना अस्पतालमा लगिएको छैन । पाँच नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका अस्पताल तथा चिकित्सा महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले धागो कारखानामा रहेको कोरोना अस्पतालमा छिट्टै सैया बढाइने बताए । आज फेला परेका संक्रमितको व्यवस्थापन गर्छौं, उनले भने, त्यो अस्पताललाई अब २ सय सैयाको बनाउनुपर्छ।

कोरोना अस्पतालमा अहिले ४० जना जनशक्ति पनि परिचालित छ । संक्रमित बढ्दै गए जनशक्ति पनि अभाव हुने कोरोना अस्पतालका कन्सल्टेण्ट डा. सुदर्शन थापाले बताए ।

४० जनामध्ये कन्सल्टेण्ट, मेडिकल अफिसर, नर्सिङ स्टाफ, ल्याब, पारामेडिटिक्स र सहयोगी गरी एक दिनमा १२ जना स्वास्थ्य कर्मीहरु परिचालित छन् । कोरोना अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी एक हप्ता काम गरेपछि २ हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । कन्सल्टेण्ट बाहेक १० जना स्वास्थ्यकर्मी सिफ्ट परिवर्तन गरी क्वारेन्टाइनमा राखिएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।