२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

भक्तपुरमा एक जना सशस्त्र प्रहरीमा पनि कोरोना संक्रमण

काठमाडौं, 
३१ वैशाख । भक्तपुरमा भेटिएका दुई जना कोरोना संक्रमितमध्ये एकजना सशस्त्र प्रहरी रहेको खुलेको छ । भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भक्तपुरका संक्रमित २७ वर्षीय पुरुष सशस्त्र प्रहरी हुन् । रामेछाप स्थायी ठेगाना भएका उनी भक्तपुरको चाँगुनारायण नगरपालिका–१ दुवाकोटबासी हुन् । निलबाराही गणका उनी नेकपा नेता एवम् पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका थिए । तर उनी एक महिनादेखि रावलसँग थिएनन् । उनलाई मंगलबारदेखि नै टेकु अस्पतालमा राखिएको छ ।

दुवाकोटमा रहेको व्यक्तिलाई कसरी कोरोना संक्रमण भयो भन्ने कुरा खुलिसकेको छैन । उनको ट्राभल हिस्ट्री लिने काम जारी छ ।

भक्तपुरकी अर्का एक जना महिला भक्तपुरको सल्लाघारीकी हुन् । सुनसरीबाट मोटरसाइकल चढेर आएकी उनी भक्तपुरको नयाँठिमीस्थित साथीको डेरामा बस्दै आएकी थिइन् । उनी भक्तपुरकै एक अस्पतालको कर्मचारी हुन् ।

दुवै संक्रमित रहेका स्थानलाई सिल गरेर निगरानी बढाइएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।