२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

मुख्यमन्त्रीद्वारा प्रतिष्ठानमा निर्मित आइसियु बेडको उद्घाटन

घोराही,
३१ वैशाख । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुधवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्मित आइसियूको उद्घाटन गरेका छन् । प्रतिष्ठानमा निर्मित दश बेडेको आइसियू हालसालै निर्माण गरिएको छ । घोराहीस्थित प्रतिष्ठानमा मुख्यमन्त्री पहिलो पटक स्थलगत निरिक्षण समेत गरेका छन् ।

प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीलाई गुरु योजनासहित आउन आग्रह गर्दै मुख्यमन्त्रीले प्रतिष्ठानको विकाश तथा हितका लागि सबै खालको सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

प्रतिष्ठानको विकासका लागि आवश्यक पर्ने पर्याप्त बजेटको व्यवस्था गर्ने समेत उनले विश्वास दिलाएका छन् । अस्पतालको सेवा बिस्तार र चिकित्सा शिक्षाका लागि जग्गा प्राप्तिदेखि सबै कुरामा स्थानीय समुदायले सहयोग गर्नुपर्ने मुख्यमन्त्रीले बताए ।

त्यसक्रममा उनले पिसिआर मेसिन, भेन्टिलेटरसहितको एनआइसियु र पिआइसियूको निरिक्षण पनि गरेका छन् ।नेकपाका प्रदेश इञ्चार्ज समेत रहेका पोखरेलले सबै खाले बिरामीको उपचारका लागि प्रतिष्ठानले संधै ढोका खुल्ला राख्नुपर्ने बताएका छन् ।

अब स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट बिरामी रेफर गर्न नहुने भन्दै उनले सबै खाले उपचारको केन्द्र प्रतिष्ठान बनाउने गरी अन्य अस्पतालबाट रेफर भएर आउने बिरामीको उपचार गर्न प्रतिष्ठान सक्षम हुनुपर्ने धारणा राखे । मुख्यमन्त्रीको स्थलगत निरिक्षण र आश्वासनले प्रतिष्ठानको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको उपकुलपति डा. संगीता भण्डारीले प्रतिक्रिया दिइन ।