२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

प्रदेश ५ कोरोनाको ‘हटस्पट’ बन्दै

बुटवल,
३१ वैशाख । सीमाबाट लुकीछिपी प्रवेश गरेकाहरूसँगै कोरोना भित्रिन थालेपछि प्रदेश ५ उच्च जोखिममा परेको छ । भारतले लकडाउन खुकुलो पारेसँगै सीमाक्षेत्रमा ल्याएर छाडिदिएकाहरू लुकेर नेपाल पस्ने गरेका हुन् ।

सीमानाकामा यसरी आएका नेपालीको भीड दिनहुँ थपिँदै गएकाले यो प्रदेश कोभिड–१९ संक्रमणको ‘हटस्पट’ बन्ने खतरा बढेको छ । कतिपय स्थानमा खेतको साँध, घरको छत र आँगनसमेत भारतसँग जोडिएकाले उनीहरूलाई रोक्न चुनौती छ ।

सोमबार र मंगलबार थपिएका ४१ सँगै यहाँ संक्रमितको संख्या ७० पुगिसकेको छ । मुलुकभर पुष्टि भएका संक्रमितमध्ये यो झन्डै ३३ प्रतिशत हो । बुधबारसम्म प्रदेश २ पछि सबैभन्दा धेरै संक्रमित भएको र एक जना पनि डिस्चार्ज नभएको प्रदेश ५ नै हो ।

हालसम्म भारतसँग सिमाना जोडिएका बाँके, कपिलवस्तु, रूपन्देही र बर्दियामा संक्रमित भेटिएका छन् । यी चारसहित ६ वटा जिल्लाको ४ सय ८५ किमि सीमा भारत, उत्तर प्रदेशका सात जिल्लासँग जोडिएको छ । ६ जिल्लामा साना–ठूला गरी ५६ वटाभन्दा बढी नाका छन् ।

अहिलेसम्म भेटिएका अधिकांश संक्रमित भारतबाटै आएको यात्रा विवरणले देखाएको छ । सुरुमा आएकालाई स्थानीय तहले क्वारेन्टाइनमा राखेका थिए । तीनरचार दिनयता सीमामा थेग्न नसकिने भीड बढेपछि स्थानीय तहले व्यवस्थापन गर्न सकेका छैनन् । सीमावर्ती पालिकाहरूले लुकेर आएकालाई क्वारेन्टाइनमा ठाउँ अभाव भएको जनाउँदै दशगजामै फर्काउन थालेको खबर कान्तिपुरमा प्रकाशित छ ।