बाँके,
१ जेठ । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालमा रहेका भारतीयहरुलाई भारत तर्फ पठाउने तयारी गरेको छ । भारतको नानपारा क्वारेन्टाईनमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने क्रममा यहाँ रहेका भारतीयहरुलाई फिर्ता पठाउन लागिएको हो ।
लकडाउनका कारण भारतको बहराईच, नानपारा आसपासका क्षेत्रका क्वारेन्टाईनमा राखिएका तथा सिमानाकामा अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई स्वादेश फिर्ता गराउन लागिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए ।
नेपालका बिभिन्न क्वारेन्टाईन, होटल तथा आफन्त कहाँ बसेका अन्दाजी पाँच सय भारतीयलाई सिमा पार गराईने र सोही सँख्यामै नेपालीहरु नेपाल प्रवेश गर्ने आँकलन गरीएको वलीले बताए ।
नेपाल प्रवेश गर्ने सबैलाई जमुनाहमै आरटिडी बिधिबाट कोरोना परिक्षण गर्ने तयारी गरीएको बताउँदै वलीले जिल्ला भित्रका नागरिकहरुलाई महेन्द्र क्याम्पसमा रहेको क्वारेन्टाईनमा राखिने र अन्यलाई उनिहरुकै गृह जिल्लामा पठाउने तयारी भईरहेको जानकारी दिए ।
नेपाल भित्रिने ब्यक्तिहरुको स्वास्थ्य परिक्षणकालागि जमुनाहमा नेपाली सेनाले क्याम्प स्थापना गरेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार भारतबाट आउने नेपालीहरुलाई पहिलो चरणमा आरटिडी बिधिबाट परिक्षण गरीने छ । आरटिडीको रिपोर्ट नेगेटिभ देखिएमा उनिहरुलाई सम्बन्धित जिल्ला पठाउने बारे छलफल भईरहेको श्रेष्ठले बताए ।