२०७९ चैत्र ४ गते शनिवार
२०७९ चैत्र ४ गते शनिवार

नेपाल फर्किन पाइने हल्लाले नेपालगन्ज नाकामा सयौंको भीड

नेपालगन्ज, 
१ जेठ । भारतमा रहेका नेपालीहरु लकडाउनकै बीच देश फर्किन पाउने हल्ला चलेपछि नाकामा सयौं नेपाली आइपुगेका छन् । दुवै मुलुकका नागरिक जान पाउने भन्ने हल्लाले मानिसहरु सीमामा आइपुगेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

दुवै मुलुकका सुरक्षा अधिकारीबीच एकअर्काका देशमा क्वारेन्टाइन पूरा गरेका नागरिकलाई पठाउने र लैजाने सहमति भएको थियो । तर, घर फिर्तीको हल्लाले भारतका विभिन्न सहरबाट सर्वसाधारण सीमामा जम्मा भएका हुन् । नेपालतर्फ आएका नागरिकको आरडीटी जाँच र क्वारेन्टाइनमा नाम अभिलेखीकरण भइरहेको छ । सीमामा दुई हजारभन्दा बढी नेपाली आइपुगेको एक प्रहरी अधिकृतले बताए ।

भारतका विभिन्न सहरबाट घर फर्किने क्रममा क्वारेन्टाइनमा राखिएका करिब पाँच सय नेपालीहरुलाई नेपालगन्ज ल्याउने भनिएको थियो । कोहलपुर नगरपालिकालगायतका क्वारेन्टाइनमा रहेका दुई सय बढी भारतीय नागरिकहरुलाई पनि भारतीय सुरक्षा अधिकारीहरुलाई बुझाइने तयारी थियो । तर, हल्लैहल्लाले भीड बढेपछि सुरक्षाकर्मीहरुलाई भीड सम्हाल्न धौधौ भयो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भारतबाट आएका सबैको आरडीटी परीक्षण गरिने बताएको खबर कान्तिपुरमा प्रकाशित छ ।