२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

प्रदेश ५ मा कोरोना प्रभावित किसानका लागि ५१ करोड १४ लाख

बुटवल, 
१ जेठ । प्रदेश नं. पाँचले कोरोना प्रभावित किसानहरुका लागि विभिन्न ७ वटा कोरोना विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले उक्त कृषि कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैया खर्च गर्ने निर्णय गरेको हो ।

त्यसका लागि कृषि एम्बुृलेन्स परिचालन गर्न ३४ लाख खर्च गरिने छ । यसैगरी रुकुमपूर्व, रोल्पा, गुल्मी र प्युठानमा बेमौसमी आलु उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ । त्यसका लागि १ करोड २० लाख रुपैंया खर्च गर्ने निर्णय गरिएको छ । आलु खेतिका लागि कम्तिमा २ देखि ६ रोपनीसम्ममा आलु खेती गरेको हुनुपर्ने र प्रति रोपनी ६ हजार रुपैंयाको दरले अनुदान दिने प्रदेश सरकारले निर्णय गरेको हो ।

यसैगरी दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा र रुकुमपूर्व गरी सात जिल्लामा व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गरिने भएको छ । कम्तिमा २ देखि ६ रोपनीमा खेती गरेको हुनुपर्ने र मल र बीउका लागि प्रति रोपनी ५ हजार रुपैंयाका दरले अनुदान दिइनेछ । त्यसका लागि १४ करोड रुपैंया खर्च गरिने भएको हो ।

यस्तै प्रदेश सरकारले कोभिड– १९ का कारण विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रम पनि ल्याएको छ । उक्त कार्यक्रमका लागि २१ करोड ८० लाख खर्च गर्ने निर्णय गरिएको हो । उक्त कार्यक्रम प्रदेशका सवै १ सय ९ वटै पालिकामा सञ्चालन गरिने भएको हो । व्यवसायिक खेतीका लागि मल विषादी, स–साना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न सहयोग गर्ने र प्रति किसान २० हजारका दरले सहयोग गर्ने योजना बनाइएको छ ।

यसगरी ब्रोइलर कुखुरापालन साना किसान लक्षित कार्यक्रमका लागि ७ करोड खर्च गरिने भएको छ । २ हजार किसानलाई ३५ हजार रुपैंयाका दरले अनुदान दिइने लक्ष छ ।

त्यस्तै दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि २ करोड ८० लाख रुपैंया खर्च गरिने भएको छ । दूध उत्पादनको विगत आठ महिनाको विक्री तथ्याङक हेरी लकडाउनको ४० दिनको प्रति लिटर १० रुपैंयाका दरले अनुदान दिइने निर्णय भएको हो ।

यसैगरी बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड खर्च गरिने भएको छ । यो कार्यक्रम प्रदेशका सवै जिल्लामा सञ्चालन गर्ने र २० हजार विघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गर्ने गरी प्रति बिघा २० हजार रुपैंयाका दरले अनुदान दिइने भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।