काठमाडौं,
१ जेठ । विश्वभर नोवल कोरोना भाइरस संक्रमणका कारण ज्यान जानेको संख्या ३ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर ३ लाख २ हजार १ सय १५ पुगेको छ ।
कोभिड–१९ संक्रमणका कारण पहिलो पटक गत जनवरी ११ मा चीनका ६१ वर्षीय पुरुषको मृत्यु भएको थियो । अमेरिकामा भने कोरोनाका कारण फेब्रुअरी २९ मा वासिङ्टन राज्यका एक पुरुषले ज्यान गुमाएका थिए । त्यसपछि विश्वभर कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढ्दो छ ।
चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोभिड–१९ संक्रमितको संख्या विश्वभर ४४ लाख ३८ हजारभन्दा बढी छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म करिब १५ लाख ८६ हजार संक्रमित निको भएर घर फर्किएका छन् ।
कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा मात्र लगभग एक चौथाईभन्दा बढी अर्थात् ८५ हजार ८ सयभन्दा बढीले ज्यान गुमाएका छन् भने संक्रमित संख्या १४ लाख १७ हजारभन्दा बढी छ । अमेरिकामा करिब २ लाख ४६ हजार निको भएका छन् ।