काठमाडौं,
२ जेठ । सरकारले लकडाउन जेठ ५ गतेपछि पनि थप गर्ने तयारी गरेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीकाअनुसार संक्रमितको संख्या बढ्दै गएकाले लकडाउनलाई कायमै राख्ने सम्भावना छ । यसबारे सम्भवत भोलि समितिमा थप छलफल हुनेछ र मन्त्रिपरिषदमा प्रस्ताव जानेछ ।
समितिले शुक्रबार कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र लकडाउन कसरी व्यवस्थित बनाउने भनेर जनस्वास्थ्य विज्ञ लगायतसँग छलफल गरेको थियो । ‘संक्रमितको संख्या बढ्यो भनेर आत्तिनु हुँदैन । भएर नभेटिनुभन्दा भेटिएको राम्रो हो भन्ने विज्ञहरुको सुझाव रह्यो’ एक मन्त्री भन्छन् ।
लकडाउन सुरु गर्नुअघिको तुलनामा सरकारको तयारी राम्रो रहेको तर यो पर्याप्त नभएको विज्ञहरुले बताएका छन् । उनीहरुले फ्रान्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षामा बढी जोड दिएका छन् ।
‘डाक्टर, नर्सहरुलाई क्वारेन्टाइनमा राख्नुस् । एउटा टोली काममा हुँदा दुई वटा ब्याकअपमा राख्नुस् । कम्युनिकेसन राम्रो होस् भन्ने सुझाव पनि आएका छन्’ एक मन्त्रीले भने ।
सबैले परीक्षण र संक्रमितको कट्याक ट्रेसिङको दायरा अझ बढाउन सुझाव दिएका छन् ।