दाङ,
३ जेठ । दाङमा पहिलोपटक फेला परेका तीनजना कोरोना संक्रमितमध्ये एकजना काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा कार्यरत स्वास्थ्यकर्मी रहेको खुलेको छ ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका–७ घर भएका ३४ वर्षीय संक्रमित पुरुष काठमाडौंमै रहेको जानकारी दिए । उनलाई बिरामीको उपचार गर्ने क्रममा संक्रमण भएको अनुमान छ ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार बेलुका निकालेको सूचनामा दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा एक जना र गढवा गाउँपालिका वडा नम्बर ४ र ५ मा दुई जना व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ ।
तुलसीपुरका व्यक्ति काठमाडौंमै रहेकाले उनलाई काठमाडौंमै गणना गर्नुपर्ने मेयर पाण्डेले बताए । उनको काठमाडौंमै भएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो ।