२०७७ माघ ११ गते आइतवार
२०७७ माघ ११ गते आइतवार

पेट्रोल लिक भएर घरमा आगलागी हुँदा एकको मृत्यु

रुकुम, 
३ जेठ । रुकुम पश्चिममा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिका–३, खदीमा शनिबार बिहान करिब ११ बजेतिर भएको आगलागीमा परी ३५ वर्षीया लाली बोहरा देवकोटाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

आगो निभाउने क्रममा उनका श्रीमान डम्बर देवकोटा घाइते भएको उनले बताए । घाइते डम्बरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । तीन तलाको ६ कोठे घरमा बिहान खाना पकाउने क्रममा भण्डारण गरिएको पेट्रोल लिक भएपछि आगलागी भएको डिएसपी केसीले बताए ।

आगलागीका कारण घरभित्रको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगो नियन्त्रण छिटै गरिए पनि महिलालाई भान्साबाट निकाल्न नसक्दा मृत्यु भएको प्रहरीको भनाइ छ । डम्बर र अर्का एकजना छिमेकी पनि घर भित्रै थिए ।

उनीहरु एउटा ढोकाबाट निस्के भने भान्सामा रहेकी लाली एकैछिनमा बलेको आगोका कारण बाहिर आउन नसक्दा मृत्यु भएको वडाध्यक्ष केशरमान विकले जनाएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।