तुलसीपुर,
३ जेठ । दाङका एकजना संक्रमितको रिपोर्ट सार्वजनिक भएको झण्डै २० घण्टापछि पहिचान भएको छ । स्वास्थ्य मन्त्रालयले गलत ठेगाना र सूचना सार्वजनिक गरेपछि दाङमा कोरोना संक्रमित एकजना बिरामी खोज्न सकस भएको थियो ।
शुक्रबार बेलुका सार्वजनिक भएको सूचना अनुसार तुलसीपुर उपमहानगरपालिका–७ मा बिरामी नभेटिएपछि विभिन्न अड्कलबाजीसमेत गरिएको थियो । शनिबार दिउँसो दाङ तुलसीपुरका कोरोना संक्रमितको वास्तविक पहिचान भएको हो ।
उनी तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर मजुवाका रहेको पुष्टी भएको छ । ३४ वर्षका उनी अर्को एकजना आफन्तको उपचारका लागि टिचिङ अस्पताल महाराजगंजमा पुगेका थिए । बिरामी कुरूवाको रूपमा रहेको उनलाई पिसिआर परिक्षण गरिएको थियो ।
परिक्षण कोरोना पोजेटिभ देखिएको हो । उनको अहिले टिचिङ अस्पतालमै आइसोलेशन वार्डमा उपचार भइरहेको कोरोना विशेष अस्पताल बेलझुण्डीका एचए दोर्ण वलीले जानकारी दिए । पोजेटिभ नतिजा सार्वजनिक भइसके पनि झण्डै २४ घण्डा दाङका तुलसीपुर क्षेत्र त्रसित बनेको थियो ।
दाङका यो सहित तीनजनामा कोरोना संक्रमण भेटिएको छ । गढवा गाउँपालिकाका दुईजना र तुलसीपुरको एकजना संक्रमित भएका छन् । गढवाको दुईजनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।