२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

दाङका सबै स्थानिय तहमा क्‍वारेन्टाइन बढाउने तयारी

दाङ, 
३ जेठ । कोरोना संक्रमित भेटिनु र भारतबाट आउने मानिसहरु बढ्न थालेपछि जिल्लाका सबै पालिकामा क्‍वारेन्टाइन बढाउन थालिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको शनिबार सम्पन्न बैठकले सबै पालिकामा क्‍वारेन्टाइन बढाउने निर्णय गरेको हो ।

बैठकले भारतबाट आउने मानिसहरुलाई राख्न प्रत्येक पालिकाले २ सय बढी शय्याका क्‍वारेन्टाइन तयार गर्ने निर्णय गरेको समिति संयोजक प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार भारतबाट आउने सबैलाई क्‍वारेन्टाइनमा राखेर अनिवार्य पीसीआर परीक्षण गर्ने निर्णय भएको छ ।

जिल्लाका १० वटै पालिकाका प्रमुख सहभागी बैठकले पालिकामा कोरोनासम्बन्धी सचेतना फैलाउने निर्णय पनि गरेको छ । हाल जिल्लाका १७ स्थानमा २ सय ८८ शय्याका क्‍वारेन्टाइन छन् । शुक्रबार दाङका तीन पुरुषमा कोरोना पुष्टि भएको थियो ।

दाङका विभिन्न अस्पतालमा १ सय ६६ आइसोलेसन शय्या रहेको रिजालले बताए । बेलझुण्डीमा प्रदेशस्तरको कोरोना विशेष अस्पताल छ । जसमा हाल दाङका २, बाँकेका ८ र कपिलवस्तुका ३ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालका स्वास्थ्य टोली प्रमुख डा. सर्वेश शर्माले बताए । सबै बिरामीको अवस्थामा सामान्य रहेको उनले जानकारी दिए ।