२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

दुई जना नेपाली सेनालाई कोरोना संक्रमण

काठमाडौं,
३ जेठ । नेपाली सेनाका दुई जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार दिउँसो स्वास्थ्य मन्त्रालयले संक्रमण पुष्टि गरेका दुईजना नेपाली सेनामा कार्यरत भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए ।

नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय, महोत्तरीमा कार्यरत दुई सैनिकमा कोरोना संक्रमण देखिएको प्रवक्ता पाण्डेले बताए । उनीहरु महोत्तरी निवासी ५२ वर्षीय र काभ्रे निवासी २६ वर्षीय पुरुष हुन् । उनीहरुमा कसरी कोरोना संक्रमण भयो भन्नेबारे अनुसन्धान भइरहेको छ । उनीहरुको पद भने खुलाइएको छैन ।

शनिबार बिहानै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ७८ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भइसकेका छन् । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।