तुलसीपुर,
३ जेठ । दाङ तुलसीपुरका ४६ वर्षीय संक्रमित पुरूष गत चैत २५ गते नै आफ्ना बहिनी ज्वाइँको कुरुवाको रूपमा शिक्षण अस्पताल पुगेको खुलेको छ। शान्तिनगर गाउँपालिका निवासी आफ्ना बहिनी ज्वाइँको कुरुवाको रूपमा उनी बाँके हुँदै काठमाडौंको शिक्षण अस्पताल पुगेका थिए।
गाउँ घरमा ज्याला मजदूरीको काम गर्ने ती व्यक्ति घर निर्माणको काम छोडेर बिरामी ज्वाइँलाई लगेर सुरूमा बाँके र त्यसपछि उतैबाट काठमाडौं गएको स्थानीयले जानकारी दिए।
केही समय पहिला मात्रै दुबईबाट आएका उनका बहिनी ज्वाइँमा मिर्गौला र टाउकोसम्बन्धी समस्या छ। त्यसैले उनी बहिनी ज्वाइँसँगै चैत २५ गते कुरुवाको रूपमा सुरूमा बाँकेस्थित कोहलपुर मेडिकल कलेज र त्यसपछि उतैबाट काठमाडौंस्थित शिक्षण अस्पताल पुगे। शुक्रबार उनका बहिनी ज्वाइँको रिपोर्ट नेगेटिभ आएको थियो। तर ती व्यक्तिको भने पोजेटिभ आयो।
केही दिनअघि टिचिङमा कपिलवस्तुकी ७ वर्षीया बालिकामा कोरोना पुष्टि भएको थियो। त्यसैले संक्रमित व्यक्तिका गाउँलेहरूले त्यतैबाट उनमा पनि संक्रमण भयो कि भन्ने आशंका व्यक्त गरेका छन्। शनिबार कन्ट्याक्ट ट्रेसिङ गर्दै संक्रमितको गाउँमा पुगेको स्वास्थ्यकर्मी तथा प्रहरी प्रशासनसमक्ष स्थानीयले सोही कुरा बताएका थिए। बिरामी लगेर गएका उनी यो बीचमा घर नआएको खबर सेतोपाटीमा प्रकाशित छ।