२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कोरोनाबाट मृत्यु भएकाको शव परिवारले हेर्न मात्रै पाउने

काठमाडौं,
३ जेठ । कोरोना संक्रमितको संख्या बढ्दै गएको र हालसम्म नेपालमा कोरोनाबाट १ जनाको मृत्यु भइसकेको छ । नेपालमा कसैले कोरोना भाइरसबाट ज्यान गुमाए उक्त व्यक्तिको परिवार तथा आफन्तले मृतकको शव छुन पाउने छैनन्। छुन मात्र नभई एक मिटर परबाट मात्रै शव हेर्न मात्र पाउनेछन्।

मेडिकल काउन्सिलको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापनसम्बन्धी कार्यविधिमा यस्तो व्यवस्था गरिएको छ। तर शवलाई व्यक्तिको धर्मअनुसार परिवारले नछोइकन अन्त्येष्टि गर्न भने पाउनेछन्। मृत्यु भएका व्यक्तिको शव छुदा भाइरस सर्ने भएकोले संक्रमित व्यक्तिको शव व्यवस्थापनमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ। सोही कारण यस्तो व्यवस्थासहितको शव व्यवस्थापन निर्देशिका जारी गरिएको मन्त्रालयले बताएको छ।

सरकारले ६० वर्षभन्दा माथि र दीर्घरोगका बिरामीलाई शवको नजिक जानसमेत रोक लगाउने भएको छ। कोभिड १९ बाट वृद्धवृद्धा र दीर्घरोगका बिरामीहरुमा उच्च जोखिम हुने भएकोले यो व्यवस्था गरिएको हो। यस्तै कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाहरुको शव अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगत गर्ने व्यक्तिहरु र सहभागी मृतकका आफन्तले पन्जा, चस्मा, टोपी, मास्कसहित पिपिई अनिवार्य प्रयोग गर्नुपर्ने प्रावधान राखिएको छ।

तर कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका व्यक्तिको सामान्यतया पोष्टमार्टम गर्न नपर्ने र गर्नुपरेमा मृतकको फोक्सो तथा अन्य अंगहरुमा जीवाणु जिउँदै हुन सक्ने भएकाले विशेष होसियारी अपनाउनपर्ने समेत विज्ञहरुले बताएका छन्। शवलाई राम्रोसँग हावा खेल्ने कोठामा राखी कम स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक सुरक्षा उपकरण प्रयोग गरेर मात्रै पोष्टमार्टम गर्नुपर्छ। साथै मृतकको धर्मअनुसार शवको सम्मान गर्दै उनका आफन्तहरु समेतलाई सुरक्षित राख्नुपर्ने उल्लेख गरिएको खबर थाहाखबरमा प्रकाशित छ ।