२०८१ असोज ३ गते बिहिवार
२०८१ असोज ३ गते बिहिवार

बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु

नेपालगञ्ज, 
४ जेठ । बाँकेको नरैनापुरमा रहेको एक क्वारेन्टाइनमा रहेका एक युवाको मृत्यु भएको छ ।

नरैनापुरस्थित दिपेन्द्र मावि भोजभगवानपुरमा रहेको क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएको सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसीले जानकारी दिइन् ।

‘गएराती ती युवालाई एक्कासी वान्ता भएपछि आज बिहान साढे ६ बजेतिर क्वारेन्टाइनमा मृत्यु भएको रहेछ’ उनले भनिन्, ‘के कारणले उनको मृत्यु भएको हो भन्नेबारे अझैसम्म केही खुल्न सकेको छैन ।’ उनी गत बैशाख ३० गते मात्र भारतबाट आएर उक्त क्वारेन्टाइनमा बसेका थिए ।

शुक्रबार नरैनापुरका ८ जनामा कोरोना पुष्टी भएपछि शनिबार मात्रै त्यहाँका २ सय ६३ जनाको स्वाब संकलन गरेर परीक्षणको लागि नेपालगञ्ज ल्याइएको थियो । २ सय ६३ जना मध्ये मृत्यु भएका युवाको समेत स्वाब संकलन भएको प्रदेश सांसद केसीले जानकारी दिइन् । स्वाबको रिपोर्ट आएपछि मात्रै के कारणले मृत्यु भएको भन्ने खुल्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले घटनाबारे जानकारी आए लगत्तै फिल्डमा स्वास्थ्य टोली हिँडिसकेको जानकारी दिए । अहिले मृत्यु भएका युवाको शवंलाई क्वारेन्टाइन स्थलमा नै राखिएको छ ।