बाँके,
५ जेठ । कोरोनाबाट आइतबार एक युवकको मृत्यु भएको नरैनापुर गाउँपालिका–५ स्थित दीपेन्द्र प्रावि क्वारेन्टाइनमा रहेका अन्य ३८ जनालाई त्यहाँबाट सारिएको छ । उनीहरूलाई जयकिसान माविको क्वारेन्टाइनमा लगिएको हो ।
मृतक बसेको क्वारेन्टाइनमा बस्न नमानेपछि आइतबार साँझ सबैलाई सारिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहम्मद मोइद खानका अनुसार जयकिसान माविमा यसअघि नै ६० जना छन् । दीपेन्द प्राविबाट आएकाहरूलाई ठाउँ नपुगेकाले टेन्टमा राखिएको छन् । ‘उनीहरू त्यहाँ बस्न नमानेपछि यहीँ टेन्ट बनाएर राखेका छौं,’ उनले भने, ‘थप क्वारेन्टाइनका लागि ठाउँ खोज्दै छौं ।’
नरैनापुरका १२ स्थानमा रहेका क्वारेन्टाइनमा अझै ७ सय ५९ जना छन् । कोरोनाले एक जनाको मृत्यु भएपछि गाउँले त्रस्त छन् । ‘गाउँपालिकाको एक्लो व्यवस्थापनले गाउँले नै क्षति बेहोर्नुपर्यो,’ वडाध्यक्ष कृष्णचन्द्र मार्यले भने, ‘हामी काम गर्न नै सकिरहेका छैनौं ।’
नरैनापुर–५ को उक्त क्वारेन्टाइनमा मुम्बईबाट आएका ती युवकसहित ३९ जनालाई राखिएको खबर कान्तिपुरमा प्रकाशित छ ।