२०८१ माघ २५ गते शुक्रवार
२०८१ माघ २५ गते शुक्रवार

बाँकेमा ९३ कोरोना संक्रमित, नरैनापुरमा मात्रै ६८ जना

बाँके, 
६ जेठ । बाँके जिल्लामा सोमबार राती थपिएका १२ जनासँगै कोरोना संक्रमित पुष्टि हुनेको संख्या ९३ पुगेको छ । सोमबार राती थपिएका १२ जना बाँकेको नरैनापुर गाउँपालिकाका बासिन्दा हुन । यसअघि सोही पालिकाका ५६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । योसँगै सो पालिकामा संक्रमित हुनेको संख्या ६८ पुगेको हो ।

संक्रमित ६८ मध्ये ८ जनाको दाङको बेलझुण्डी अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको मृत्यु भइसकेको छ । सोमबार दिउँसो थप भएका ४७ जनाको व्यवस्थापन हुन नपाउँदै राती १२ जना थपिए पछि व्यवस्थापनमा समस्या देखिएको छ ।

नरैनापुरमा कोरोना पुष्टि भएका सबै भारतको मुम्बईबाट लुकिछिपी नेपाल फर्किएका व्यक्तिहरु हुन । गत बैशाख ३० गते नेपाल प्रवेश गरेका उनिहरु सबैलाई सिमानाकाबाटै सिधै स्थानीय पालिकाले व्यवस्थापन गरेको विभिन्न क्वारेन्टाइनमा लगेर राखिएको थियो ।

उनिहरुसँगै मुम्बईबाट ६ सय २६ जना स्थानीय बासिन्दा उक्त गाउँपालिका आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । अहिले उनिहरु सबै विभिन्न क्वारेन्टाइनमा रहेका छन । ६ सय २६ जना मध्ये हालसम्म पटक पटक गरि ४ सय १५ जनाको स्वाब संकलन गरिएको श्रेष्ठले जानकारी दिए । संकलन गरिएको ४ सय १५ जनाको स्वाब मध्ये ६८ जनामा पोजेटिभ देखिएको उनले बताए । बाँकी ३ सय ४७ को रिपोर्ट भने नेगेटिभ आएको हो ।

उनले नरैनापुरबाट संकलन गरि ल्याइएका १ सय ७ जनाको स्वाब परिक्षणकै क्रममा रहेको जानकारी दिए । क्वारेन्टाइनमा बसेका बाँकी २ सय ११ जनाको पनि छिट्टै स्वाब संकलन गरि परिक्षण गरिने उनले बताए । शनिबार स्वाब संकलन गरि परिक्षण गरिएका २ सय ६३ जना मध्ये ६० जनामा कोरोना पुष्टि भएको छ भने एकजनाको मृत्यु भइसकेको छ ।

यसअघि सोहि गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना पुष्टि भएको थियो । ती ८ जनाको दाङ स्थित बेलझुण्डी अस्पतालमा उपचार भइरहेको छ ।