२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

आज मात्रै २७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४०२

काठमाडौं, 
६ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार एकै दिन २७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ४०२ पुगेको हो। नयाँ संक्रमित काठमाडौं भक्तपुरदेखि झापासम्मका छन् ।

नयाँ संक्रमित १७ वर्षदेखि ४२ वर्ष उमेर समूहका छन् । क्रमितमध्ये २४ पुरुष र तीन महिला छन् । झापाको ९, मोरङ र सुनसरीको एक/एक, सर्लाहीको दुई, काठमाडौंको तीन, भक्तपुरको एक, मकवानपुरको एक, रामेछापको एक, ललितपुर एक, सिन्धुली एक, लम्जुङको एक, कपिलवस्तुको चार र नवलपरासीको एक गरी जम्मा २७ जनामा मंगलबार संक्रमण पुष्टि भएको हो । उनीहरुको कन्ट्रयाक ट्रेसिङको काम सुरु भएको देवकोटाले जानकारी दिए । संक्रमित ४०२ मध्ये ३४० पुरुष र ६२ महिला छन् ।

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सय ४ र आरडीटी विधिबाट ७४ हजार ६ सय ४९ जनाको परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट दुई हजार दुई सय ८० र आरडीटी विधिबाट पाँच हजार ८९ जनाको नमुना परीक्षण गरिएको छ।

प्रवक्ता देवकोटाका अनुसार २१ हजार ६ सय २३ जना क्वारेन्टाइनमा छन्। उपत्यकामा १७ र बाहिर ४४० गरेर आइसोलेसनमा ४ सय ५७ जनालाई राखिएको छ। मंगलबार विराटनगरस्थित कोसी अस्पतालमा उपचार गराइरहेका झापाका ६२ वर्षीय पुरुष डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ३७ पुगेको छ।