बबई,
७ जेठ । दलित सेवा संघ शाखा दाङले लकडाउनका कारण प्रभावित बनेका पश्चिम दाङका दलित समुदायका अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । विकास कोष नर्वेको आर्थिक सहयोग तथा बबई गाउँपालिका वडा नम्वर ६ को समन्वय र स्थानिय मनकामना कृषक समुहको व्यवस्थापनमा वडा नम्वर ५ र ६ का दलित समुदायका २३ घरपरिवारलाई राहत वितरण गरिएको संस्थाका सामाजिक परिचालन अधिकृत छवि परियारले जानकारी दिएका छन् ।
गन्धर्व समुदायका १३, बादी समुदायका ५ र मुक्त कम्लहरीका ५ गरी २३ घरपरिवारलाई राहत वितरण गरिएको हो । उनीहरुलाई प्रतिपरिवार २५ केजी चामल, २ केजी दाल, २ केजी नुन, एक लिटर तेल र २ गोटा सावुन गरी जम्मा ५ सय ७५ केजी, ४६ केजी दाल, ४६ केजी नुन र ४६ गोटा सावुन वितरण गरिएको अधिकृत परियारले जानकारी दिएका छन् ।
संस्थाद्धारा बबई गाउँपालिका अँर्तगत गठन गरेका विभिन्न १२ वटा कृषक समुहका सदस्यहरु मध्ये अति विपन्न नागरिकलाई छनोट गरी राहत उपलब्ध गराईएको उनले बताएका छन् ।
राहत वितरण कार्यक्रममा संस्थाका कार्यबाहक अध्यक्ष लिला विक, वडा नम्वर ६ का वडा अध्यक्ष राम बहादुर डाँगी लगाएतको सहभागिता रहेको थियो ।
संस्थाले सन् २०१७ देखी विभेदमा पारिएका समुदायको जिविकोपार्जनमा सुधार परियोजना मार्फत विउ विजन सहयोग, जमिन भाडामा लिई खेती गर्ने लगाउने अर्धबार्षिक, व्यवसायीक तरकारी खेती र पशु पालनको लागी सहयोग गर्दै आईरहेको बताईएको छ ।