२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

संघ र प्रदेश सरकारले नदिएपछि स्थानीय तहले आफैं किने किट

कपिलवस्तु, 
८ जेठ । कपिलवस्तुका स्थानीय तहले आफैं कोरोनाको पीसीआर जाँच्ने भीटीएम किट खरिद गरेका छन् । उनीहरुले क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलनसमेत आफैं सुरु गरेका छन् ।

संघीय र प्रदेश सरकारसँग क्वारेन्टाइनमा भएकाहरुको कोरोना जाँचका लागि पटक पटक माग गर्दासमेत किट अभाव देखाएर पन्छिएपछि कपिलवस्तुका स्थानीय तहले आफैं किट खरिद गरेका हुन् । जिल्लाका विभन्न १८८ क्वारेन्टाइनमा बसेका ७ हजार ५ सय ४७ जनाको परीक्षणका लागि ढिलो हुने भएपछि स्थानीय तह आफै‌ं तात्तिएका हुन् ।

कपिलवस्तुका कपिलवस्तु नगरपालिका र शिवराज नगरपालिकाले एक/एक हजार थान भीटीएम किट किनिसकेका छन् । कार्यपालिका बैठकबाट बजेट छुट्याएर डब्लुएचओले प्रमाणित गरेको किट खरिद गरिएको नगरपालिकाहरुले जानकारी दिए ।

महराजगञ्ज नगरपालिकाले १ हजार २ सय थान, बुद्धभूमि नगरपालिकाले एक हजार थान, कृष्णनगर नगरपालिकाले २ हजार थान र यशोधरा गाउँपालिकाले १ हजार २ सय थान किट किन्ने प्रकृया अघि बढाएका छ ।

जिल्लाका अन्य पालिकाले समेत किट किन्ने तयारी अघि बढाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । समयमै जाँच नगरिए क्वारेन्टाइनमै संक्रमण फैलने डरले यहाँका स्थानीय तहहरु आफै किट खरिद गर्न तात्तिएका हुन् ।

शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले भ्याट सहित ३९० रुपैयाँ पर्ने भीटीएम किट खरिद गरी सयजनाको स्वाबसमेत संकलन गरिएको बताए । जाँचका लागि काठमाण्डौ पठाइएको र विहीबार बेलुकासम्म २ सयको स्वाब संकलन गरिने उनले जानकारी दिए । ‘भारतबाट ल्याएर क्वारेन्टाइनमा राखेको २० दिन बढी भइसक्यो, कति दिन राख्ने ? संघ र प्रदेशले किट छैन भन्छ,’ नगरप्रमुख अधिकारीले भने, ‘ क्वारेन्टाइनभित्रै कोरोना फैलने डर भयो, त्यसैले आफैं कस्सियौं ।’

कपिलवस्तु नगरपालिकाले पनि १०५ जनाको स्वाब आफ्नै खरिद गरिएको किटबाट जाँच अघि बढाइसकेको छ । महराजगञ्ज नगरपालिकामा जिल्लाको सबैभन्दा बढी १ हजार ६३० जना क्वारेन्टाइनमा छन् । ‘भारतबाट र्फकेका ब्यक्तिलाई क्वारेन्टाइनमा जसोतसो राखेका छौं तर, उनीहरुको स्बाव सयममै संकलन नहुँदा कोराना फैलने डर भएको छ’ उनले भने ‘ स्वाब संकलनका लागि किट अभाव भएपछि आफै किन्न तम्सिएका हौं ।

किट अभाव हुँदा क्वारेन्टाइनमा बसेका ८० प्रतिशतभन्दा बढीको परीक्षण हुन सकेको छैन । बुधबारसम्म यहाँ ६० संक्रमित भेटिएका छन् । जिल्लामा बुधबार साँझसम्म १ हजार ५ सय बढीको स्वाब संकलन भएको स्वास्थ्य कार्यालयले जनाएको खबर अनलाइन खबरमा प्रकाशित छ ।