बुटवल,
९ जेठ । उपचारका क्रममा मृत्यु भएका गुल्मी मदानेका कोरोना संक्रमितको शब ३१ घण्टापछि नेपाली सेनाको टोलीले उठाएको छ ।
रुपन्देहीको क्रिसन अस्पतालमा बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएका उनको शब शुक्रबार दिउँसो २ बजे सेनाले उठाएको हो ।
अस्पतालको दुई तलामाथि रहेको आईसीयू कक्षमा पुगेर नेपाली सेनाको चार–पाँच जनाको प्राविधिक टोलीले मृतकको शब निकालेर र्यापिङ गरी शब वाहनमा राखेर अस्पतालबाट अन्यत्र लगेको हो । शबवाहनलाई प्रहरीले स्टर्किङ गरेको थियो । मृत्यु भएको दोस्रो दिनसम्म शब उठ्न नसकेपछि सरकारको आलोचना भएको थियो । मृतकका आफन्तले कोरोना पोजेटिभ देखिएपछि अस्पतालले उपचार नगरेको भन्दै बिहीबार बिहान छानबिन हुनुपर्ने माग गरेका थिए ।
तर सेनाको टोली आएर शब व्यवस्थापनका लागि तयार कागजमा हस्ताक्षर गर्न भनेपछि उनीहरुले हस्ताक्षर गरेका रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिए ।