२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

पहिलो पटक जनप्रतिनिधिमा कोरोना संक्रमण

भक्तपुर, 
१० जेठ । नेपालमा स्थानीय तहका जनप्रतिनिधिमा समेत कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले शुक्रवार राति पुष्टि गरेका संक्रमितमध्ये एकजना भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि भएको खुलेको छ।

यसअघि नगरपालिकाले नै गरिएको आरडिटी परीक्षणमा उनीसँगै केही जनप्रतिनिधि र कर्मचारीहरुको नतिजा पोजिटिभ आएको थियो। त्यसपछि थ्रोट स्वाबको नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर परीक्षणका लागि पठाएको थियो। पिसिआर परीक्षणमा ती महिना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएका हो। उनी वडामा राहत वितरणलगायत वडाका अन्य कार्यमा सक्रिय रहेकी थिइन्।

लकडाउनसँगै वडामा विपन्नको विवरण संकलनका लागि उनी घरघर पुग्ने गरेको बताइएको छ। संक्रमित जनप्रतिनिधिलाई राति नै अस्पताल लगिएको र भक्तपुर नगरपालिकाको वडा नम्बर ९ लाई सिल गरेर संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको विवरण संकलन गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।