प्यूठान,
१० जेठ । प्यूठानमा सानाठूला गरी २ सय ५० वटा यात्रुवाहक सवारीसाधन छन्। तर जिल्लाका स्थानीय तहले फोहोर बोक्ने गाडी र ढुंगा, गिट्टी, बालुवा बोक्ने टिपरमा मान्छेहरु ल्याइरहेका छन्। लकडाउनले खाली बसेका बस, जिपहरुलाई परिचालन गर्नेतर्फ स्थानीय तहले समन्वय गरेका छैनन्।
भारतीय नाकामा आइपुगेका प्यूठानीहरुलाई उद्दार गर्नका लागि जिल्लाका स्थानीय तहले फोहोरका गाडी र टिपरमा आफ्ना नागरिकलाई ल्याइरहेका हुन्। यसले थप असुरक्षित बनाएको टिप्पणी भइरहेको छ।
जिल्लाका यातायात व्यवसायी, स्थानीय सरकार र प्रशासनबीच प्रभावकारी सम्वन्य नभएको देखिएको छ। ‘गाडी चालकलाई पिपिई सेट दिएर सुरक्षित महसुस गराउन सके गाडी पठाउँछौ’,स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समिति प्यूठानका महासचिव कुमार श्रेष्ठले भने,‘तर अहिलेसम्म कसैले पनि गाडी चाहियो भनेका छैनन् ।’ उनले जिल्लाबासीलाई ल्याउनका लागि गाडी परिचालन गर्न समिति तयार रहेकोसमेत उल्लेख गरे।
बसहरु जान नमान्दा फोहोर बोक्ने गाडी भएपनि पठाउन बाध्य भएको प्यूठान नगरपालिका मेयर अर्जुनकुमार कक्षपतीले प्रतिक्रिया दिएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।