२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

नेपाल प्रवेशको अनुमति नपाउँदा एक नेपालीको भारतीय क्वारेन्टाइनमै मृत्यु

भैरहवा, 
१० जेठ । रोजगारीका लागि भारतका गएका युवा लकडाउनका कारण नेपाल प्रवेशको अनुमति नपाउँदा सीमापारीको क्वारेन्टाइनमै मृत्यु भएको छ। जेठ ५ गते नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा राखिएका स्याङजाका हरिनाथ नगरपालिका २ चिसापानीका ३२ वर्षीय देव बहादुर थापाको शनिबार मृत्यु भएको भारत नौतनवाका एसडिएम जसधिर सिंहले पुष्टि गरे।

मृतक थापाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि जिल्ला सदरमुकाम महाराजगंज अस्पतालमा उपचार पश्चात शुक्रबार साँझ पुनः क्वारेन्टाइनमा ल्याइएपछि उनको मृत्यु भएको एसडिएम सिंहले बताए। उनी भारतको अलिगढबाट केही दिन पैदल हिँडेर मुलुक फर्किने आशामा सीमामा पुगेका थिए। तर, सरकारले प्रवेश अनुमति नदिदाँ उनलाई सीमावर्ती भारतीय बजार नौतनवाको क्वारेन्टाइनमा राखिएको थियो। मृतक थापासगँ उनको भिनाजु पनि क्वारेन्टाइनमा छन्।

एसडिएम सिंहका अनुसार मृतक क्वारेन्टाइनमा आउनु अघि उनको खुट्टा र अन्डकोष सुन्निएको तथा मृगौला सम्बन्धिको समस्या देखिएको थियो। सीमामा पुगेर अलपत्र पर्ने नेपाली नागरिकलाई नौतनवास्थित स्थापना गरिएको विभिन्न क्वारेन्टाइनमा राख्ने गरिन्छ। उनले घटनाबारे नेपालको स्थानीय प्रशासनलाई जानकारी गराएको र उनीहरु आएर अवस्थाबारे जानकारी लिइरहेको बताए। उक्त क्वारेन्टाइनमा १ सय ३९ जना नेपाली रहेको बताइएको छ। मृतकको शव पोस्टमार्टमका लागि महाराजगंज जिल्ला अस्पतालमा पठाइएको र पोस्टमार्टम पश्चात मृत्युको कारण खुल्ने उनले बताएको खबर अन्नपुर्ण पोष्टमा प्रकाशित छ ।