बुटवल,
१० जेठ । कृषि उत्पादन, स्वास्थ्य सुधार र रोजगारी स्थापनालाई प्राथमिकतामा राखेर प्रदेश ५ सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । कोरोनाले गरेको क्षति न्यूनीकरण गर्न बजेटमा नयाँ कार्यक्रम समावेश नगरी स्वदेशी श्रमिक प्रयोगमुलक योजना बनाउने नीति प्रदेशले अबलम्बन गर्ने जनाएको हो ।
प्रदेशसभाको शनिबारको बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै खर्चमा मितव्ययिता अपनाइ कृषि रोजगारमुलक कार्यक्रमलाई जोड दिइएको बताए । प्रदेशको नाम र राजधानी साउनभित्रै तोकेर पूर्वाधार निर्माण थालिने सरकारको कार्यक्रम रहेको उनले बताए ।
कोरोना भाइरसका कारण थलिएको अर्थतन्त्रको पुनरोत्थानका लागि विशेष कार्यक्रम ल्याएने नीति कार्यक्रम छ । विदेशबाट फर्किकाहरुलाई रोजगारमा जोड्ने कार्यक्रम ल्याइने सरकारको योजना छ । नयाँ कार्यक्रम थप नपर्ने, खर्चमा मितव्ययिता, अनुत्पादक खर्च कटौटी गर्न नया कार्यालयका लागि बजेट बिनियोन नगरिने कार्यक्रम छ ।
कोरोनाले गरेको क्षति न्यूनीकरण हुने गरी स्थानीय तहलाई अनुदान दिइने नीति लिइएको छ । कृषि उत्पादन वृद्धि, स्वदेशी कच्चा पदार्थबाटै उत्पादन हुने उद्योग खोल्न प्रेरित गर्ने कार्यक्रम ल्याइने छ । स्वदेशी श्रम, स्वदेशमै पसिना कार्यक्रम अन्तर्गत कृषि उत्पादनको नीति अलवम्बन गरनेछ । व्याज अनुदानको नीति लिइने र सुलभ कर्जा उपलब्ध गराइने कार्यक्रम सरकारको छ ।
स्मार्ट कृषि गाउँ कार्यक्रमलाई १०९ पालिकामै विस्तार गर्ने कार्यक्रम सरकारले बनाएको छ । रुकुमपूर्वलाई अर्गानिक जिल्ला घोषणा गरी सघन कृषि कार्यक्रम थालिने योजना सरकारको छ । किसानलाई बजारको सुनिश्चितता गर्न बजार प्रवर्द्धन कार्यक्रम गरिने भएको छ ।
गुणस्तरीय पर्यटक आवागमन बढाउन जोड दिइने योजना सरकराको छ । कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई बौद्ध सर्किटका रुपमा विकास गरी पर्यटन प्रवर्द्धन गरिने प्रदेश प्रमुख यादवले बताएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।