जाजरकोट,
११ जेठ । केटी भगाउन गएका एक युवाको नदीमा डुबेर मुत्यु भएको छ। ६ जना बेपत्ता छन् भने १२ जना पक्राउ परेका छन्। जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको गाउँलेहरुको लखेटाईबाट भाग्दै गर्दा भेरी नदीमा डुबेर मृत्यु भएको हो। सँगै भागेका अरु ६ जना बेपत्ता भएका छन्।
नवराजसँगै भागेका ६ जना युवाहरु अझैसम्म सम्पर्कमा आउन नसकेको जाजरकोटका प्रहरी प्रमुख डिएस्पी किशोर कुमार श्रेष्ठले जानकारी दिए। मृतक विकसँगै गएका अन्य १२ जना युवालाई भने चौरजहारी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्रेष्ठले बताए।
नवराज र चौरजहारी ८ सोतीकी शुष्मा मल्ल बीचमा लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको र उनीहरु बीचको अन्तरजातिय प्रेम सम्बन्धलाई शुष्माका आमा–बुवाले अस्वीकार गदै आएका थिए। आफुहरु बीचको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न शुष्माकै आग्रहमा नवराजले १८ जना युवा लिएर जाजरकोटको खलंगाबाट शनिबार सोती पुगेका थिए।
शुष्मालाई भगाउन केटाहरु सोती पुगेको आमा–बुवालाई जानकारी भएपछि चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको सहयोगमा जाजरकोटका केटाहरुलाई कुटपिट गर्नुको साथै चौरजहारी प्रहरीलाई खबर गरेर १२ जना युवालाई प्रक्राउ गराइएको थियो।
भागेका ७ जना युवाहरुमध्ये नवराज विक भेरी नदीमा डुबेर मृत अवस्थामा धल्ला पुल नजिकै फेला परेका थिए। शनिबार बेलुका ६–७ बजेतिर मृत अवस्थामा फेला परेका नवराजको शव आइतबार बिहान प्रहरीले नदीबाट बाहिर निकालेको डीएसपी श्रेष्ठले जानकारी दिए। अहिलेसम्म सम्पर्कमा नआएका अन्य ६ जना युवाहरुको खोजी कार्य भइरहेको प्रहरी प्रमुख श्रेष्ठले बताए।
चौरजहारी प्रहरी नियन्त्रणमा रहेका १२ जना युवालाई आवश्यक सोधपुछपछि घर पठाइने प्रहरीले जनाएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।