२०७७ असोज १२ गते सोमवार
२०७७ असोज १२ गते सोमवार

केटी भगाउन गएका युवकको मृत्यु : वडा अध्यक्षसहित ५ पक्राउ

जाजरकोट, 
११ जेठ । अन्तरजातीय प्रेम सम्बन्ध गाँसेर विवाहका लागि केटी लिन गएका जाजरकोटका एक युवाको हत्या भएपछि पश्चिम रुकुम चौरजहारी नगरपालिकाका वडाध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विवाहका लागि प्रेमिका लिन गएका जाजरकोट भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको हत्या भएपछि चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्वरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्लसहित पाँचजनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक धर्मसिंह विष्टले बताए । उनका अनुसार घटनामा संलग्न अन्यलाई पनि नियन्त्रणमा लिने क्रम जारी छ।

भेरी नगरपालिका वडा नम्बर ४ राना गाउँका २१ वर्षीय नवराज विककी प्रेमिका पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीकी १७ वर्षीय सुस्मा मल्ललाई बेहुलीको रुपमा भित्र्याउन शनिबार १९ जना युवासहित गाउँ पुगेका बेलामा वडाध्यक्ष वीरबहादुर मल्लसहित सोतीका गाउँलेहरुले आक्रमण गरेर लखेट्दा नवराजको भेरी नदीमा खसेर मृत्यु भएको र अन्य ६ जना बेपत्ता भएको प्रहरी निरीक्षक विष्टले बताए ।

सुस्मालाई लिन नवराज सहितको युवाको समुह सोती पुगेपछि उनका आमाबुवाले गाउँलेलाई बोलाएर आक्रमण गरी लखेटेको प्रहरीले जनाएको छ । पीडितपक्षले भने हत्या गरेर भेरीमा फालिदिएको दावी गरेका छन् ।

घटना जातीय विभेदका कारणले घटेको भए गम्भीर अपराध ठहरिने दलित अधिकारकर्मी बताउँछन् । केटा र केटीको मन मिले जातीय विभेदको नाउँमा कसैले पनि रोक्न नमिल्ने तर उमेर नपुगेको र सहमती नभएको भए पनि भौतिक आक्रमण गरेर ज्यान लिने हर्कत अक्षम्य नहुने दलित अधिकारकर्मी वीरबहादुर विकको भनाइ भएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।