काठमाडौं,
११ जेठ । बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका ४ जना र बर्दियाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिष्ठानका कामु रजिस्टार कैलाशप्रसाद देवका अनुसार बर्दियाको बासगढी नगरपालिका–९ का २५ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै बाँकेको राप्ती सोनारी गाउँपालिका–५ का २४, २३, २३ र १६ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको देवले जानकारी दिए ।
यसैगरी रुपन्देहीका थप ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । आइतबार थपिएका तीनजना नयाँ संक्रमितहरू सम्मरीमाई गाउँपालिका ५ का दुईजना र वडा नं ७ का एकजना पुरुष रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराईले जानकारी दिए ।
तीनै जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ।