२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

गाउँलेले जबरजस्ती स्थानीय युवकसँग विवाह गरिदिन खोज्दा किशोरीद्वारा आत्महत्या

बुटवल, 
१२ जेठ । गाउँलेले जबरजस्ती स्थानीय युवकसँग विवाह गरिदिन खोज्दा रुपन्देहीको देवदह नगरपालिकाकी एक किशोरीले आत्महत्या गरेकी छन्। देवदह नगरपालिका वडा नं. ११ की १५ वर्षीया किशोरीले झुण्डिएर आत्महत्या गरेकी हुन्।

गाउँकै एक युवकसँग सँगै हिँडेको भन्दै स्थानीयले उनको जबरजस्ती विवाह गराइदिन भन्दै युवकको घर हुल्दिएका थिए। गत शुक्रबार राति १० बजे स्थानीय एक युवक र ती किशोरीसँगै डुलिरहेका बेला स्थानीय युवकहरुले समातेका थिए।

रातिको समयमा सँगै हिँडेको भेटेपछि घरपरिवारसँग मिलेर स्थानीयले शनिबार विहान ती किशोरीलाई सोही युवकसँग विवाह गर्न दवाव दिँदै घरभित्र जबरजस्ती हुल्दिएका थिए।

विहान जवरजस्ती युवकको घर हुलिएकी किशोरी अपरान्ह ५ बजे देवदह नगरपालिकाकै वडा नं २ मा रहेको रोहिणी खोला किनारको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

देवहद नगरपालिका वडा नं ११ का अध्यक्ष अमर बहादुर चौधरीले रातको समयमा केटाकेटी बसेको देखेपछि युवाहरुले समातेको र शनिबार समाज बसेर केटाको घर हुलेको स्वीकार गरे। चौधरीका अनुसार दलित समुदायकी किशोरी भएकाले केटाको परिवारले घर पस्न दिएका थिएनन्।

स्थानीयले जवरजस्ती घरमा हुल्दिए पनि युवकको आमाले पस्न नदिएपछि उनीहरु सँगै घरबाट निस्किएका थिए। वडा अध्यक्ष चौधरीले किशोरीको उमेर कम भए पनि केटासँग हिँडेको भेटेपछि परिवारको सहमतिमा घर पठाएको स्वीकार गरेका छन्।

आफ्नो घरपरिवार र केटाको घरबाट समेत लखेटिएपछि किशोरीले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका खबर सेतोपाटीमा प्रकाशित छ ।