२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

भारतबाट स्वदेश फर्किदै गरेका एक नेपालीको बाटोमै मृत्यु

कपिलवस्तु, 
१२ जेठ । भारतको गुजरातबाट स्वदेश फर्किने क्रममा एक नेपालीको शनिबार दिउँसो लखनउनजिकै मृत्यु भएको छ ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का ३५ वर्षीय कृष्णबहादुर गैरेको स्वदेश फर्किने क्रममा मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

उनका अनुसार अर्घाखाँचीवासी दुईवटा बसमा स्वदेश फर्किंदै थिए । त्यसैमध्येको एक बसमा गैरे सवार रहेको खुलेको छ । गैरे लखनउमा पानी पिउन बसबाट बाहिर निस्किएका थिए । लखनउबाट बस छुट्ने बेला उनले साथीहरूसँग आफूलाई छटपटी भएको, बान्ता र छाती दुखेको बताएका थिए ।

गैरेका भतिजाले प्रहरीलाई जानकारी दिएअनुसार त्यसपछि अस्पताल नपुर्‍याउँदै उनको बाटोमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय, कृष्णनगरका निरीक्षक प्रताप पौडेलले गैरेको शव सोही बसमै राखेर ल्याइएको जानकारी दिए । उनका अनुसार मृतकले मदिरा पनि सेवन गरेको पाइएको छ । उनीहरू आइतबार बिहान ७ बजे कृष्णनगर नाकामा आएका थिए । दुईवटा बसमा गरेर ९८ यात्री सवार थिए । आइतबार दिउँसो सिर्सिहवा नाका हुँदै उनीहरू मुलुक भित्रिएका हुन् ।

कृष्णनगरबाट गएको एम्बुलेन्सले भारतीय सीमावर्ती बजार बढनीबाट शव ल्याएर आएको थियो । मृतकको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि भैरहवास्थित प्रदेश प्रयोगशाला पठाइएको छ । शवसँग हेलमेल भएका अन्य ९ जनाको पनि स्वाब संकलन गरिएको खबर कान्तिपुरमा प्रकाशित छ ।