बर्दिया,
१२ जेठ । बर्दियाको गुलरिया नगरपालिकासँग जोडिएको नेपाल–भारत सीमा छुट्याउने दशगजामा भारतले एकतर्फी रूपमा पक्की सडक बनाइरहेको छ । सडक निर्माण भारतको सडक विभागअन्तर्गत पब्लिक वर्क डिभिजन (पीडब्लूडी) ले गरेको हो ।
सीमास्तम्भ नम्बर ६१ स्थित दशगजामा पक्की सडक निर्माणसँगै भारतीयले पक्की घर पनि बनाएका छन् । उक्त सडक भारतको बहराइच जिल्ला जोड्ने राजमार्गसम्म छ ।
गुलरिया–१० का वडाध्यक्ष वीरेन्द्र चौधरीले सडक निर्माण सशस्त्र द्वन्द्वका बेला सुरु भएको बताए । ‘दशगजा मिचेर पक्की सडक बनाइएको छ । पक्की घर पनि निर्माण भएका छन्,’ उनले भने ।
बर्दियाको गुलरिया नगरपालिकाको थपुवा, खालेपुरुवा र चौगुर्जी, राजापुर नगरपालिकाको सत्तार फारामलगायत सीमामा भारतीयबाट अतिक्रमण भए पनि स्थानीय प्रशासन बेखबर र निरीह भएको स्थानीयले गुनासो गरेका छन् ।
भारतीय घना जंगलसँगै जोडिएको सीमामा २ सय ४५ वटा सीमास्तम्भ रहेका छन् । तीमध्ये नेपाल–भारत छुट्याउने सीमामा गाडिएका मुख्य ७ सहित १ सय २५ वटा स्तम्भ हराएको सशस्त्र प्रहरी बलको ३१ नम्बर गणले जनाएको छ । ६ वर्षयता बबई नदीमा आएको बाढी र कटानले ३२ वटा सीमास्तम्भ बगाएको गणपति यादव विकले जनाए । कतिपय सीमास्तम्भ तोडफोड गरिएको अवस्थामा फेला परेको खबर कान्तिपुरमा प्रकाशित छ ।
-फाइल फोटो