२०७७ असोज १२ गते सोमवार
२०७७ असोज १२ गते सोमवार

मेरा विद्यार्थीको एसईई र उनिहरुमा उब्जिएको मनोबैज्ञानिक प्रश्न

हिमाल खड्का ।
यतिबेला बिश्वभर कोरोना भाइरस फैलिरहेको छ । फलस्वरूप कोराना नियन्त्रण गर्न र कोरोना संक्रमणबाट जोगिन अहिले बिश्व बन्दाबन्दीमा छ । यतिबेला सारा बिश्व जगतको नियमित जिवनचर्या परिवर्तन नै भएको छ । कलकारखाना ठप्प छन, श्रम बजार महिनौंदेखि बन्द हुँदा बिश्वमा अर्थतन्त्रको गिरावट चरम उत्सर्गमा पुगेको छ ।

कोरोना भाइरसबाट नेपाल पनि अछुतो हुन सकेको छैन । अहिले नेपाल करिब ६१ दिनदेखीको पुर्ण लकडाउनमा छ, र नेपालका पनि सम्पुर्ण गतिविधिहरु ठप्प छन । मैले यहाँ स्थगित एसईई परिक्षा विद्यार्थीहरुको मनोबैज्ञानिक अवस्था, अनलाइन तथा टेलिभिजन मार्फत प्रसारण भैरहेका भर्चुअल कक्षाहरु र बिद्यार्थीहरुको पहुँचताका बिषयहरुलाई आफ्नै बिद्यालयका बिद्यार्थीहरुसंग जोडेर बिश्लेशन गर्ने प्रयास गरेको छु ।

म दाङको श्री सरस्वती जनता मावी बबई गाउँपालिका १ गङ्गटेको गणित शिक्षकको रुपमा कार्यरत छु । सामान्य जनजीवन बिताईरहेका यहाँका विद्यार्थीहरु त्यति अद्भुत क्षमताका त छैनन् नै अझ उनिहरुलाई भौगोलिक बनावट र त्यहाँको बिकटताले झन पछि पारेको छ ।

गत चैत ६ गते एसईई को परीक्षा मिति तोकिएको थियो । उनिहरुले वर्षभरी पढेका र सिकेका कुराहरुबाट थोरैले भएपनी राम्रो नतिजा हाँसिल गर्नेछन भन्ने मनोभावना मेरो मनमा थियो । तर अब त्यो सम्भब देखिएन, कारण उनिहरुको परीक्षा स्थगित भयो र उनिहरुमा मनोबैज्ञानिक असर पर्यो साथै पढेका पुराना कुराहरुलाइ पुनर्ताजगी कुनै माध्यम पनि उनिहरुसंग छैन ।

मनोबैज्ञानिक असर नपरोस पनि कसरी सामान्य परिवारका विद्यार्थी, करिव ४ महिना उनिहरुकै खर्चमा स्कुलले संचालन गरेको होस्टेल बसेर बिहान ५ बजेदेखी राती ११ बजेसम्म गरेको मेहनतको लेखाजोखा गर्न भनि करिब २६ किलोमीटरको यात्रा तय गरेर कोठाभाडा बसेर परिक्षा दिन तम्सिएका उनिहरु परीक्षा हुने भनेकै दिन आफ्नो झोला कुम्ला बोकेर फर्कन बाध्य भएपछि मनोबैज्ञानिक असर पार्ने यो त एउटा कारण भयो, जुन मेरा विद्यार्थीले मात्र होइन सबै विद्यार्थीहरुले अहिले भोगिरहेका छन ।

यहाँ यस्ता समस्याहरु प्रस्तुत गर्दछु जुन मेरा विद्यार्थीहरुसंगै देशका सिमित भुभागका बिद्यार्थीहरुले भोग्न बाध्य छन । बबई गाउँपालिकाको केन्द्र हापुरेदेखि करिव २६ किलोमीटर पस्चिममा पर्छ गङ्गटे । जुन ठाउँ यति बिकट छ, कि यहाँ मानवीय आवस्यकताका थुप्रै आवश्यकताहरुको अभाव छ । यहाँ विद्युत सेवा र टेलिफोन नेटवर्कको नामोनिसान नै छैन भने भर्खर भर्खर पुगेको कच्ची सडक पनि एउटा सामान्य पानीको झरी वर्षियो भने ५/७ दिन बाटो ठप्पै हुन्छ । झन बर्खा याममा त झन गाडी चल्ने कुरै भएन । सडकको समस्यालाई विद्यार्थीको मनोबिज्ञानमा असर पार्ने कुरासंग अहिले जोड्न चाहान्न । कुरा जोडिन्छ अब विभिन्न माध्यमहरुबाट संचालन भैरहेका भर्चुअल क्लासहरु र अन्य अनलाइन, टिभी र रेडियोहरु मार्फत चलिरहेका शिक्षण सामाग्रीहरुसंग ।

सुगमका विद्यार्थीहरु यस्ता सामग्रीहरुबाट केही हदसम्म भएपनी अपडेट भैरहेका छन तर जहाँ नेटवर्क छैन, जहाँ विद्युतको पहुँच छैन, जहाँ टिभी हेर्नका लागि कुनै पनि सिङ्नल छैन, जहाँ सबैभन्दा सजिलो पहुँच क्षमता भएको रेडियोको पहुँच नै छैन त्यहाँका विद्यार्थीहरुले कसरी सिक्ने, कसरी हेर्ने सरकारका भर्चुअल कक्षाहरु, कसरी कनेक्ट हुने अनलाइन सामाग्रीहरुसंग अनि कसरी सुन्ने रेडियो सामाग्रीहरु । यस्ता थुप्रै समस्याहरु झेलिरहेका मेरा विद्यार्थीहरुमा स्थगित परिक्षाले कस्तो मनोबैज्ञानिक असर परेको होला त्यो कल्पना भन्दा बाहिरको कुरा हो ।

म स्थगित परिक्षालाई कुनै दोष दिन चाहान्न किनकि त्यो प्रकृतीले उब्जाएको समस्या हो र प्रकृतिको विषम परिस्थितिमा मनलाई बलियो बनाएर चुनौतीको सामना गर्न पनि विद्यार्थीहरु तत्पर हुनपर्छ, तर मेरा विद्यार्थीको गाउँमा टेलिफोन नेटवर्क र इनटरनेट सुबिधा नहुनु कसको कमजोरी हो सरकार ? उनिहरुले टिभिमा भर्चुअल क्लास हेर्नको लागि टिभी सिङनल नपाउनु र विद्युतको पहुँच नहुनु कसको कमजोरी हो सरकार ? यस्ता थुप्रै प्रश्नहरु अहिले उब्जिएका छन, जुन प्रश्नको उत्तर अहिले माग्ने औचित्य ठानेको छैन तर आशा छ यि प्रश्नहरु सोध्नै नपर्ने वातावरण हाम्रो सरकारबाट छिट्टै सिर्जना हुनेछ ।

यो त एउटा उदाहरण मात्रै हो, यस्ता मनोबैज्ञानिक असरहरु अहिले देशभरिका विद्यार्थीहरुमा परेको छ जसको उचित व्यवस्थापन गर्नु सरकारको दायित्व हो । हामीले माध्यमिक शिक्षा ९-१२ लाई मानिसकेको अबस्थामा अब एसईई परिक्षा नगराएर उनिहरुको आन्तरिक मुल्यांकनलाई आधार मानेर ग्रेड वृद्धि गर्ने र कक्षा १२ लाई माध्यमिक शिक्षाको अन्तिम खुड्किलाको रुपमा एसईई परिक्षा गराउनु नै उत्तम विकल्प हुन सक्छ ।