जाजरकोट,
१३ जेठ । रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ मा अन्तरजातीय विवाहको कारण भएको घटनापछि बेपत्ता एक जनाको शव सोमबार भेटिएको छ। सोतीस्थित मल्ल थरकी किशोरीसँगको प्रेमसम्बन्धपछि २० जनाको केटापक्षको टोली केटी लिन गएका थिए। ती युवाहरुलाई सोतीका स्थानीयले लखेट्दा भेरी नदीमा हाम फाल्दा २ युवाको मृत्यु भएको थियो ।
उनीहरुको शव भेरी नदी किनारमा फेला परेको थियो। आज सोमबार थप एक जनाको शव भेटिएको हो। बेपत्ता ३ युवाको अवस्था भने अझै अज्ञात छ। प्रहरीले दिएको जानकारीअनुसार, जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका सोतीकी किशोरी लिन करिब २० जनाको टोली नै बनाएर युवाहरु गएका थिए। सोतीमा गाउँले र ती युवाहरुबीच झडप हुँदा भेरी नगरपालिका ४ नवराज विक र चौरजहारी नगरपालिका १ टीकाराम सुनार र भेरी नगरपालिका ४ गणेश बुढाको मृत्यु भएको थियो ।
सुनार र विकको शव आइतबार भेटिएको थियो भने गणेशको सोमबार भेटिएको हो। भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिबारदेखि बेपत्ता छन्। घटनामा संलग्न रहेको अरोपमा चौरजहारी नगरपालिका ८ का वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
वडाध्यक्ष डम्बर मल्लसहित स्थानीय १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिएका छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।