हिमाल खडका,
बबई १३ जेठ। दाङको बबई गाउँपालिकामा रहेको पुरन्धारा सरसफाइ तथा खानेपानी उपभोक्ता समिती बबई गाउँपालिका ३ ले पानीमाथी निजीकरण गर्ने कोशिस गरेको छ ।
उक्त समितीले बबई गाउँपालिका वडा नम्बर ३ को रातामाटाका बासिन्दाका लागि शुरुमा ५०० र न्युनतम शुल्क मासिक २५ लिई करिब १५ घरको लागि छोडिदिएका मध्ये एउटा धारा आफ्नो मनमानीले काटिदिएको छ । नजिकै रहेको घट्टेखोलामा पनि अर्को खानेपानी आयोजना निर्माणाधीन छ र उक्त १५ घरले यो आयोजना सम्पन्न भएपछी आफू उक्त आयोजनाको उपभोक्त बन्नसक्ने भनेपछि बिना जानकारी पानी काटिएको हो ।
घट्टेखोलामा निर्माणाधीन खानेपानी आयोजना सम्पन्न हुन अझै १ वर्ष भन्दा बढी लाग्ने भएको र खाँदै गरेको पानी जबर्जस्ति काटिदिएपछी अहिले उक्त टोलमा पानीको हाहाकार मच्चिएको छ । पानी किन काटिएको भनेर सोध्दा ‘तिमिहरु पछि गएर हाम्रो स्थायी उपभोक्ता बन्ने हो, भने पानी दिन्छौं होइन भने हामी यो धारा दिन सक्दैनौं’ भन्ने तर्क उपभोक्त समितीका सदस्यहरुको छ । यो उपभोक्ता समितीले पनि नयाँ ट्यांन्की निर्माण गरेर अबको करिब १ वर्षपछि पानी पुर्याउने योजना बनाएको छ ।
तर टोलबासीहरुले आफुहरुले पहिले नै घट्टेखोलाको पानीको उपभोक्ता बन्ने भनेर पैसा बुझाइसकेकोले अहिले नै यता स्थायी उपभोक्ता बन्न नसकिने भनेका छन । उक्त योजनाको खानेपानीको उपभोक्त बन्न नमानेपछी आफुहरुले पैसा तिरेर अहिले खाँदै गरेको पानी काटिदिएको र समितिले मानवता बिरोधी कार्य गरेको स्थानीयको गुनासो छ । उपभोक्ता शुल्क ५०० र न्युनतम शुल्क मासिक २५ बुझाएर १५ घरले उपभोग गर्दै आएको एउटा धारा पनि काटिनु गलत कार्य भएको टोलबासिको भनाई छ ।