भारतले एकपछी अर्को गर्दै आज चिया निर्यातमा रोक लगायो । अनि हामी कराउन थाल्यौँ, नेताहरुलाई गाली गलौच गर्न थाल्यौँ । तपाई सोच्नुहुन्छ, म सोच्छु अनि अधिकांस मानिसको सोच नै यहि हुन्छ, कि म पनि एउटा राम्रो जागिरमा लागु, तपाईं अनि मलाई सङ्घर्ष नगरी सफलता हात पर्दैन भन्ने कुरा थाहा छ, तर पनि हामी सोच राख्छौँ ठेलाबाट एकैचोटी टुप्पोमा पुगौँ भन्ने बिचमा गर्नुपर्ने सङ्घर्ष र मेहनतलाई हामी वास्ता गर्दैनौँ । यसकारण हिजोभन्दा आज झन धेरै हामी नेपाली अरु देशको रोजगार प्रती बढी निर्भर हुनुपरेको छ ।
आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोच हामी जनता मै छैन नेतालाई मात्र कति दोष दिनु ? नेपालीको सोच सुरुमै टुप्पोमा पुग्न खोज्ने छ । तराइमा हजारौ बिघा खेतहरु बाँझो छन्, मध्य पहाडी क्षेत्रमा तरकारी खेतीका सम्भावना बोकेका पाखो बारीहरु प्लटिङ्ग गरेर पक्की घरहरु ठर्याइदै छ । फलफूल, तरकारी तथा अन्य नगदे बालीहरु प्रशस्त मात्रामा उत्पादन गर्ने जमिनले सरापेको हो मेरो देश र जनतालाई । पढेपछी जागिर नै खानुपर्छ भन्ने मान्यता छ । अरे सबैले जागिर खोज्न थालेपछी खाद्यान्न चाहिँ आफै उत्पादन हुन्छ ?
जागिर र ठूला ठूला महल खडा गरेर व्यापार गर्नाले कुनै पनि देश समृद्धी तर्फ अघि बढ्नै सक्दैन । देश विकासको सबैभन्दा ठूलो आधारभूत पाटो भनेको कृषि अर्थतन्त्र हो । खोइ हाम्रो देशमा कृषीमा क्रान्ती गरेको ? आखिर डिग्री पास गरेर ठूला ठूला देशमा महङ्गो पैसा तिरेर जान्छौ । त्यहाँ पनि सबैले गतिलो काम पाउँछन् भन्ने छैन, आखिरमा पसिना बगाउनु पर्छ कृषीखेतीमा अनि अरुको देशको लागि कृषि क्रान्तिमा त्यसरी पसिना बगाएर अहोरात्र खटिन सक्छौँ भने, के हामी हाम्रो देशमा पनि त्यस्तै क्रान्ती गर्न सक्दैनौँ र ? किनेर खाने बानी परेका हामी नेपाली जब दैनिक उपभोग्य सामग्री महङ्गो हुँदैछ ।
अनि कराउन थाल्छौँ महङ्गी बढ्यो भनेर, अरे हामी आफै उत्पादन गर्न जागर चलाउदैनौँ त अनि अरुले उत्पादन गरेको चिजहरुमा उसको स्वामित्व हुन्छ, उसको परिश्रम हुन्छ । उठाउनु परेन र उसले आफ्नो लगानी ? देशको हजारौँ बिघा खेतियोग्य जमिन हलो र कोदालीको पर्खाइमा छ । कहिलेसम्म भारतको हेपाहा प्रवृत्तिमा बिषादीयुक्त बासी तरकारी र खाद्यान्न किनेर खाने ? पहिले हामी आम जनता नै कृषीमा केही गर्नुपर्छ भन्ने जोस र जाँगर सहित नउठेसम्म यो देशले नाकाबन्दी सहनु नै पर्छ । देशमा कृषि क्रान्ती गरौँ, दुई चार पैसा कमाइयो भन्दैमा गाउँको कृषीलाई लात हानेर शहरमा अरुको घरमा भाडा तिरेर साँघुरो एउटा कोठालाई नै पुरै संसार नठानौँ । गाउँमा रहेको पाखो बारीलाई पनि कोदाली र हलोको आवश्यकता छ ।
जागौँ अब, हैन भने हामी नेपाली सधैँ भर रुखबाट फल खस्ला र खाउँला भन्दै पर्खेर बस्नु शिवाय अरु विकल्प देख्दिन । पूर्वमा कयौँ बिघा चियाखेती योग्य बारीहरु बाँझिएका छन् । पहिला हामी आफैँबाट सुरु गरौँ कृषि क्रान्तिको नयाँ अध्याय अनि देश चलाउने नेताहरुलाई सिङ्गो देशको जनता मिलेर दबाब दिन सिकौँ, र त पुग्नेछ सुदुरको ताजा स्याउ पूर्व अनि सुदुरमा पुग्नेछ पुर्वको चिया , हिमालबाट बगेर आएको सिञ्चित तराइको भूमिमा उत्पादित खाद्यान्नले उत्तरको भोकमरि सङ्ग लड्ने साहस गरौँ ।कहिले पाउँला मेरो देशको भूमिले ती पौरखीहरुको पसिनाले भिज्न ?
छबि ठाडा मगर
(दाङ, नेपाल)
हाल उत्तराखण्ड भारत