२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

बर्दिया जिल्ला अस्पताल सिल, स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

गुलरिया, 
१३ जेठ । ज्वरो आएर अस्पताल भर्ना गरिएका एक युवाको स्वाब परिक्षण रिर्पोट पोजेटिभ आएपछि बर्दिया जिल्ला अस्पताल शिल गरिएको छ । अस्पतालका कार्यरत स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालको आकस्मिक कक्षवाहेक सबै सेवा बन्द गरिएको छ ।

जिल्ला अस्पतालमा कार्यरत १४ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीले जनाएका छन् । गुलरिया नगरपालिका– १ मा रहेको क्वारेन्टाइनमा बस्दै आएका युवालाई अचानक ज्वरो आएपछि जिल्ला अस्पताल भर्ना गरिएको थियो । उनको स्वाब परिक्षण गर्दा सोमबार कोरोना पुष्टि भएको थियो ।

संक्रमित युवाको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीहरुको स्वास्थ्यलाई मध्यनजर गरी उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको बताइएको छ । स्वास्थ्यकर्मी क्वारेन्टाइनमा गएपछि अस्पतालको सेवा प्रभावित भएको छ । स्वास्थ्यकर्मीहरुको तत्काल स्वाब परिक्षणका लागि पठाइने भएको छ । उनीहरुको रिर्पोट नगेटिभ आएपछि मात्र अस्पतालको सेवा सुचारु हुने बताइएको छ ।

सोमबार साँझ गुलरिया नगरपालिका वडा नं १ का १८ वर्षीय पुरुष, वडा नं १० का २२ र २५ वर्षीय पुरुषमा गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यी तीनै जना भारतबाट आएका थिए । उनीहरु सबै स्थानिय क्वारेन्टाइनमा बस्दै आएका थिए । गुलरियाका १ जना, बासगढी नगरपालिकाका १, राजापुर नगरपालिकाका १ र बढैयाताल नगरपालिकाका १ गरि ४ जनामा कोरोना पुष्टि भइसकेको थियो ।

सोमबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ पुगेको छ ।