२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

एम्बुलेन्सले बोक्न नमान्दा भारतबाट आएका युवाको बाटोमै मृत्यु

सुर्खेत, 
१४ जेठ । भारतबाट गाउँ फर्कंदै गरेका एक युवाको घर पुग्‍न नपाउँदै मृत्यु भएको छ।

सुर्खेत जिल्लाको चिङगाड गाउँपालिका ५ का २२ वर्षीय वीरेन्द्र रोकायको एम्बुलेन्सले बोक्न नमान्दा मृत्यु भएको भारतबाट सँगै आएका छिमेकी हरिबहादुर खत्रीले जनाए। ‘मंगलबार राति कर्णाली प्रदेश भित्रने मुख्य नाका बबईमा करिब सात बजे गाडीमा बान्ता गरेका थिए, हामीले गाडीमा बसेर बान्ता आएको भनेर वास्ता गरेनौं, पछि भेरी पुलमा आएपछि छटपटाए’, उनले भने, ‘चेकपोष्टमा पुगेर एम्बुलेन्सलाई फोन गर्दा पनि एम्बुलेन्सले मानेन।’ खत्रीले भने, ‘हामीले फोन गर्दा एम्बुलेन्स आउन नमानेपछि चेकपोष्टका असई सापलाई फोन गर्न आग्रह गर्यौं, असई सापले पनि दुईवटा एम्बुलेन्सलाई फोन गर्नुभयो, इण्डियाबाट आएको भनेपछि एम्बुलेन्स आउनै मानेन’ उनले भने, ‘असई सापले एमबुलेन्स आउन मानेन, तपाईको गाउँपालिकामा फोन गरेर गाडी मगाउनुहोस् भन्नुभयो।’ ‘पछि प्रहरी र हाम्रो अनुरोेधमा हामी आएको बसले नै प्रदेश अस्पतालसम्म लगिदिएको थियो’, खत्रीले थपे, ‘तर अस्पतालमा पनि जाँच नै गर्न नपाई ज्यान गयो।’

मृतकका आफन्तले अस्पताल पुर्‍याएको दुई घण्टापछि बिरामीको मृत्यु भएको जनाएका छन्। आफन्त खत्रीले भने, ‘अस्पताल ल्याएको बेला बिरामीको मुखबाट फिँज आइरहेको थियो, हामीलाई गेटभित्र नै छिर्न दिइएन, पछि स्कुटरमा आएका डाक्टरले छाती छाम्‍न लगाए र मृत्यु भइसकेको बताए।’